s

नेपाली लाइसेन्सलाई '१८६ देशमा मान्यता'

योगेश खतिवडा

नेपाली अनुमति प्राप्त व्यक्तिले साक्षीको नागरिकता र पोसपोर्ट दिएपछि अमेरिकाको किडा जेनेरलले अन्तर्राष्ट्रिय मान्यता पाउने गरी अनुवाद गरेर पठाउँछ । 

किडाले सन् १९६८ मा भियनामा भएको संयुक्त राष्ट्रसंघको सडक ट्राफिक सम्झौताका आधारमा अन्तर्राष्ट्रिय लाइसेन्स रुजु गर्दै आएको छ । ५० नेपालीले आपmनो लाइसेन्स अन्तर्राष्ट्रियकरण गरिसकेको नेपाली एजेन्ट प्रशंसा इन्टरनेसनलले जनाएको छ ।
 
तपाईसँग नेपाली सवारी चालक अनुमतिपत्र छ ? तर अरू कुनै पनि मुलुकमा काम नगरेर चिन्तामा पर्नुभएको छ ? त्यस्तो हो भने अब तपाईको चिन्ता कम हुने भएको छ । नेपाली लाइसेन्सको आधारमा अनुवाद गरिएको अन्तर्राष्ट्रिय अनुमतिपत्र लिन सकिने व्यवस्थाले यस्तो सजिलो हुने भएको हो । यस्तो लाइसेन्सबाट विश्वका १ सय ८६ देशमा सहजै सवारी साधन चलाउन सकिने छ । 
 
प्रशंसा इन्टरनेसनले नेपाली लाइसेन्सका आधारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनुमतिपत्र तयार गर्ने काम सुरु गरेको छ । 'विभिन्न १ सय ८६ देशमा चल्ने अन्तर्राष्ट्रिय लाइसेन्स तयार गर्ने काम सुरु गरेका हौं,' कम्पनीका प्रमूख कार्यकारी अधिकृत शिशिर उपाध्ययले भने ।
 
उपाध्ययका अनुसार अन्तर्राष्ट्रिय लाइसेन्स लिन सुरुमा र्फम भर्नुपर्छ । एक जना साक्षी आवश्यक पर्छ । साछी र आफ्नो नागरिकता र पासपोर्ट दिएपछि अमेरिकी कम्पनी किडा जेनेरलमा लाइसेन्स तयार गर्न पठाइदिन्छ । उसले यसलाई अन्तर्राष्ट्रिय रूपमा अनुवाद गरेर पठाउने छ । आवेदन दिएको दस दिनभित्र मेसिन रिडेबल लाइसेन्स नेपालमा आउने उपाध्यायले बताए । उनका अनुसार हालसम्म नेपालबाट ५० भन्दा बढी व्यक्तिले लाइसेन्स लिएका छन् । अमेरिका सरकारबाट अनुमति पाएको किडाले अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स दिने गर्छ । यसले सन् १९६८ मा भियनामा भएको संयुक्त राष्ट्रसंघको सडक ट्राफिक सम्झौताका आधारमा अन्तर्राष्ट्रिय लाइसेन्स रुजु गर्दै आएको छ । किडाले स्टेट अफ न्युयोर्क, युएस डिपार्टमेन्ट अफ स्टेटका साथै नेपाली राजदूतावासबाट पनि कानुनी मान्यता पाएको छ । 
 
'संयुक्त राष्ट्रसंघमा सडक तथा ट्राफिक सम्झौतामा हस्ताक्षर गरेको सबै मुलुकमा यस लाइसेन्सले काम गर्छ,' उनले भने, 'नेपालले पनि यसमा हस्ताक्षर गरेको छ ।' किडाले नेपालमा यसको व्यवस्थान जिम्मा आशाको फूल नामक गैरसरकारी संस्थाले दिएको छ । आशाको फूलले काठमाडौंको प्रशंसा इन्टरनेसनलाई एजेन्टमा नियुक्त गरेको हो ।  
 
'नेपाली लाइसेन्स १२ भाषामा अनुवाद हुन्छ,' उनले भने । तर अनुवाद गरिएको अन्तर्राष्ट्रिय लाइसेन्सले मात्र भने काम गर्दैन । उनले अरू मुलुकमा नेपाल सरकारले दिएको लाइसेन्स र अन्तर्राष्ट्रिय भाषामा अनुवाद भएको दुवै देखाउनुपर्ने बताए । कम्पनीले ३ सय र ४ सय डलरमा दुईखाले अनुवाद गरिएको लाइसेन्स दिने छ । '३ सय डलरमा स्टयान्डर्ड र ४ सयमा डिजिटल लाइसेन्स तयार गर्छौं,' उनले भने, 'बनाउन दिएको १० दिनमा हामी त्यो उपलब्ध गराउँछौं ।' यो लाइसेन्स लिएका व्यक्तिले अरू कुनै देशमा गएर कुनै पनि प्रकारको प्रशिक्षण लिनु पर्दैन ।
संयूक्त राष्ट्रसंघमा काम गरेका सर्भेश्वर पुरीले पनि हालै यस्तो लाइसेन्स लिएका छन् । 'यसअघि अमेरिकामा हुँदा अन्तर्राष्ट्रिय लाइसेन्स लिएको थिए,' उनले भने, 'नेपालबाट पनि यो लिन मिल्ने भएपछि मैले लिएँ ।' उनले दायाँ वा बायाँ जताबाट चलाउने व्यवस्था भएको देशमा पनि यसले काम गर्ने बताए । यस्तो लाइसेन्सको अवधि बढीमा तीन वर्ष हुन्छ । 'यो लाइसेन्सको अवधि तीन वर्षको हुन्छ,' उपाध्यायले भने, 'नेपालीको अवधि कम भए त्यसमा भएको अवधिमा हुन्छ ।' 
 
यसको नवीकरण अनलाइन मार्फत गर्न सकिने उनको भनाइ छ । तर नेपाली लाइसेन्सको नवीकरण भने भएको हुनुपर्छ । उनका अनुसार गएको देशको स्थायी भिसा भए यस लाइसेन्सको आधारमा एक वर्षपछि त्यही मुलुकको लाइसेन्स लिन सकिने उनले बताए ।  यातायात व्यवस्था विभागले भने यसबारे आफूलाई जानकारी नभएको बताएको छ । 'हामीले नेपाली लाइसेन्सलाई अंग्रेजीमा अनुवाद त गर्छौं,' विभागका निर्देशक कपिल डंगोलले भने, 'नेपाली लाइसेन्स अनुवाद गरेपछि धेरै देशमा चल्ने बारे थाहा छैन ।'
 
Published on: 23 December 2011 | Kantipur

Back to list

;