s

नेपाली कामदारको समस्या समाधानमा युएई सकारात्मक

रुपेश अधिकारी

श्रम सम्झौता मस्यौदाको बिषयमा युएईसँगको छलफलमा नेपाली प्राविधिक टोलीले कामदारको सुरक्षा, सेवा सुविधा र शून्य लागतको विषयलाई मुख्य रुपमा उठाएको छ । दुबईको श्रम तथा मानव संशाधन मन्त्रालयमा बुधबार र बिहीबार भएको छलफल वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने विषयमा केन्दि्रत थियो ।

छलफलमा सहभागी प्राविधिक टोलीले राखेका विषयमा दुवै पक्ष सकारात्मक रहेको र कतिपय फरक बुझाइ रहेको विषयमा स्पष्ट पारिएको छलफलमा सहभागी कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए । उनले भने, ‘सन् २००७ मा भएको एमओयुका बारेमा थप परिमार्जित गर्न यहाँको निकाय सकारात्मक देखियो । कामदारको न्युनतम तलब, घरेलु कामदारको समस्या समाधान, शून्य लागत, बीमालगायतका बिषयसमेत सकारात्मक छ ।’

नेपाली टोलीले शून्य लागतमा नेपाली कामदारले रोजगारीमा आउदा कुनै खर्च गर्नु नपर्ने विषयलाई जोड दिएको छ । दुवैपक्षका टोलीले छलफलमा प्रस्तुत गरेका विषयलाई माथिल्लो तहमा पेश गर्नेछन् । त्यसपछि त्यहाँ अझै छलफल गर्नुपर्ने आवश्यकता हेरेर सहमतिमा पुगिने कार्यबाहक राजदूत फुयाँलले बताए ।

छलफलमा नेपालबाट आएको ५ सदस्यीय प्राबिधिक टोली र दूतावासका तर्फबाट कार्यवहाक राजदूत सागरप्रसाद फुुयाँल, श्रमकाउन्सुलर भेषबहादुर कार्की र श्रम सहचारी मोतिराम भुसाल सहभागी थिए । युएईको तर्फबाट मानव संशाधनमन्त्री नाशर बिन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव डाक्टर ओमार अलनुवाईमी सहभागी थिए । यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नबिकरण गर्न लागिएको हो । प्राविधिक टोली शनिबार नेपाल फर्किने छ ।

Published on: 1 February 2019 । Onlinekhabar

Back to list

;