s

नेपाली कामदार रोजगारीमा विनाखर्च मलेसिया जान पाउने

मलेसियाका मानव संसाधनमन्त्री आज नेपाल आउँदै, दुई देशबीच श्रम सम्झौता हुने

मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन नेपाली कामदार लैजानेसम्बन्धी एमओयू (आपसी समझदारी)मा हस्ताक्षर गर्न आइतबार नेपाल आउँदै छन् । सोमबार हायात रिजेन्सी होटेलमा एमओयूमा हस्ताक्षर कार्यक्रम राखिएको छ । सम्झौतासँगै करिब ६ महिनादेखि अवरुद्ध मलेसियाको रोजगारी पुनः सुचारु हुने बाटो खुल्नेछ । वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदार ठगीमा पर्न थालेपछि ६ महिनायता सरकारले कामदार मलेसिया पठाउन रोक लगाएको छ ।

मलेसियन एयरलाइन्समार्फत मन्त्री सेगरनसहित आठ मलेसियाली उच्च अधिकारीको टोली आइतबार राति नेपाल आइपुग्नेछ । सोमबार बिहान करिब ११ बजे मन्त्रीसहितको द्वीपक्षीय वार्ता सकिनासाथ हायात होटेलमा सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम तय भएको छ । त्यसलगत्तै १५ मिनेटको पत्रकार सम्मेलन तय गरिएको छ । यद्यपि, मलेसियन टोलीका सदस्यसँगको छलफलपछि कार्यतालिका केही परिवर्तन हुन सक्ने पनि बताइएको छ । मन्त्रालयका अनुसार सोमबार दिउँसो नैै सम्झौताको व्यवस्था कार्यान्वयनका लागि संयुक्त कार्यदलले काम थाल्नेछ ।

सम्झौतामा हस्ताक्षर भएसँगै नेपाली कामदार मलेसिया जाने बाटो खुल्नेछ । सोमबार एमओयूमा हस्ताक्षर भएपछि व्यावहारिक रूपमा नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन केही दिन लाग्न सक्ने श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीले बताए । सम्झौता भएसँगै त्यसका लागि द्विपक्षीय प्राविधिक टोलीले काम थाल्ने उनले जानकारी दिए । मन्त्रालयका अनुसार सम्झौता भएको केही दिनभित्रै नयाँ व्यवस्थाअनुसार नेपाली कामदार निःशुल्क रूपमा वैदेशिक रोजगारीका लागि मलेसिया जान सक्नेछन् । कलिङ भिसा आएका श्रमिकको विषयसमेत द्विपक्षीय छलफलको कार्यसूचीमा रहेको मन्त्रालयले जानकारी दिएको छ । श्रममन्त्री गोकर्ण विष्टले ४ जेठमा मलेसिया जाने कामदारबाट अनधिकृत रूपमा रकम असुल्ने सबै किसिमका संघसंस्था खारेज गर्ने घोषणा गरेका थिए । त्यसयता मलेसियाको रोजगारी बन्द छ । राहदानी संकलन, भिसा प्रोसेसिङ, इमिग्रेसन सेक्युरिटी क्लिरियन्स, बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा कामदार ठगी गर्दै आएका संस्थाविरुद्ध सरकारले मुद्दा चलाएको थियो । उक्त कार्यमा संलग्न भिएलएन नेपाल, जिएसजी, माइग्राम्स तथा मेडिकल व्यवसायीविरुद्धको मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा नै छ ।  विदेशी कामदारसम्बन्धी विद्यमान व्यवस्था नै परिवर्तन हुँदै

मलेसिया सरकारले विदेशी कामदारसम्बन्धी समग्र नीतिसँगै संरचनागत व्यवस्थामै आमूल परिवर्तन गर्ने तयारी गरेको छ । विदेशी कामदारसम्बन्धी व्यवस्थामा सुधारका लागि आवश्यक सुझाब दिन भन्दै मलेसिया सरकारले एक महिनाअघि एक स्वतन्त्र समिति गठन गरेको थियो । समितिको सुझाबअनुसार मलेसिया सरकारले निजी कम्पनी तथा एजेन्टमार्फत विदेशी कामदार लैजाने व्यवस्था नै खारेज गर्ने जनाउ दिइसकेको छ । विद्यमान विदेशी कामदार भर्ना प्रक्रियाका कारण मानव तस्करी र ठगी बढेको भन्दै त्यहाँको सरकार त्यसको विकल्पमा जुटेको हो । मलेसियाका गृहमन्त्री मुहिद्दिन यासिनले केहीदिनअघि विद्यमान ऐन तथा नियमावलीअन्तर्गत विशेष ऐन बनाएर विदेशी कामदार भर्ना प्रक्रियामा आमूल परिवर्तनको तयारी भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । हालको व्यवस्थाअनुसार मलेसियाको गृहमन्त्रालयअन्तर्गत १ सयभन्दा बढी आउट सोर्स कम्पनीमार्फत विदेशी कामदार भर्नाको व्यवस्था मिलाइएको छ । तर, अब भने त्यस्ता कम्पनी खारेज गरी मानव संसाधन मन्त्रालयले निजी रोजगार एजेन्सी (पिइए)को समन्वयमा विदेशी कामदारको व्यवस्थापन गरिने बताइएको छ । त्यसअनुसार आगामी दिनमा विदेशी कामदारप्रति रोजगारदातालाई नै पूर्ण जिम्मेवार हुनुपर्नेछ । तर, नेपाललगायतका कामदार पठाउने मुलुकमा रहने संरचनाको विषयमा भने प्रस्ट भइसकेको छैन ।

यस्तो छ, सम्झौताको मस्यौदा

मलेसियाका मानव संसाधनमन्त्री कुलासेगरनले गत साउनमै नेपाली कामदारको समस्या समाधानको चरणमा पुगेको भन्दै नेपाल आउने जानकारी गराएका थिए । एमओयूको मस्यौदामा केही साताअघि मलेसियामा दुवै पक्षबीच समझदारी जुटिसकेको छ । मस्यौदा औपचारिक रूपमा बाहिर नआए पनि नेपाली पक्षका धेरैजसो चासोहरू समेटिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । त्यसअनुसार कामदारले कुनै पनि शुल्क नतिरी सुलभ शुल्कमा मलेसिया जान पाउनेछन् । कामदारको स्वास्थ्य परीक्षणलगायत भर्नासम्मको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने विषय मस्यौदामा रहेको ती अधिकारीको भनाइ छ । ‘सुरुमा स्वास्थ्य परीक्षणको शुल्क कामदारले नै व्यहोर्नुपर्नेछ,’ उनले भने, ‘मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको पारिश्रमिकमा त्यस्तो शुल्क श्रमिकलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

Published on: 28 October 2018 | Naya Patrika

Back to list

;