s

नेपाली कामदारले आफन्तलाई कोरियामै भेट्न पाउने, सकियो तयारी

रविन्द्र घिमिरे
 
नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न कोरिया सहमत भएको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले यसअघिको भेटमा कोरियन राजदूत पार्क योंगसिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए ।
 
सोमबार भएको भेटवार्तामा राजदूत पार्क योंग सिकले यो व्यवस्था लागु गर्न तयारी भईसकेको जानकारी दिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । उनले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइ सकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको बताएको श्रम मन्त्रालयका सहसिचव प्रकाश दाहालले जानकारी दिए । कोरियाले यो योजनाको अाैपचारिक घोषाणा केही समयभित्रै गर्नेछ ।
 
कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्ने विश्वास सहित सरकारले यस्तो प्रस्ताव गरेको थियो ।
 
यसअघिकै भेटमा कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारसँग पहल गर्ने बताएका थिए । सोमबारको भेटमा राजदूत योंगसिकले कोरियाले आफन्तलाई निश्चित समयका लागि कोरिया लैजान पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
 
कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सरकारको छ ।
 
लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाएपछि आत्महत्या लगायतका समस्यमा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।
 
कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुने परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्ने विश्वास सरकारलाई छ ।
 
भेटमा दुई देश वीचको सौहार्द सम्बन्ध र आपसी हितका विषयमा पनि छलफल भएको छ । मन्त्री बिष्टले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेकाले कामदारहरुको संख्या थप गर्न कोरियन सरकारलाई आग्रह गरे ।
 
उनले कोरियामा जाने कामदारलाई त्यहाको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरुवीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।
 
संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।
 
राजदूतले नेपाली कामदार इमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने कुरा व्यक्त गरेका छन् ।
 
उनले प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
 
वैंकिङ माध्यमबाट विप्रेषणलाई स्वदेशमा ल्याउने प्रतिस्पर्धाको माध्यमबाट सुलभ दरमा कामदारहरुलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल भएको मनत्रालयका सहसचिव सह-सचिव प्रकाश दाहालले जानकारी दिए ।

Published on: 6 August 2018 | Onlinekhabar

Back to list

;