s

नेपाली कामदार मृत्यु हुने मुलुकमा मलेसिया पहिलो

गोपाल साउद

एक सय १० मुलुकमध्ये ३३ मुलुकमा नेपाली कामदारको मृत्यु

वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने मुलुकमा मलेसिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो १० वर्षमा अन्य सबै मुलुकको तुलनामा मलेसियामा ठूलो संख्यामा नेपाली कामदारको ज्यान गएको तथ्यांक छ । वैदेशिक रोजगार प्रवर्धन बोर्डको तथ्यांकअनुसार साउन २०६५ देखि हालसम्म मलेसिया गएका २ हजार ४ सय २८ जना नेपाली कामदारले अकालमै ज्यान गुमाएका छन् ।
 
नेपालसँग मिल्दोजुल्दो हावापानी, खुलापन, सहज भाषा, नेपाली कामदारको राम्रो छवि भएकाले उपयुक्त रोजगार गन्तव्यका रूपमा मलेसियालाई व्याख्या गरिँदै आएको छ । तर, वैदेशिक रोजगारमा गएका कामदारको मृत्युको तथ्यांक हेर्ने हो भने भयावह देखिन्छ ।
 
सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० मुलुक खुला गरेको छ । त्यसमध्ये रोजगारीका क्रममा ३३ मुलुकमा नेपाली कामदारको मृत्यु भएको देखिन्छ । १० वर्षको अवधिमा वैदेशिक रोजगारमा जाने कामदारमा क्रमशः साउदीमा १ हजार ८ सय ३०, कतारमा १ हजार ३ सय १६, युएईमा ५ सय १३, कुवेतमा २ सय ९ र बाँकी २८ मुलुकमा २ सय ९ जना कामदार ज्यान गएको छ ।
 
यद्यपी यो तथ्यांक वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका तथा श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरूको मात्रै हो । त्यसबाहेक अवैध रूपमा वैदेशिक रोजगारीमा गएका र गैरकानुनी हैसियतमा ती मुलुकमा रहँदा मृत्यु हुने नेपाली कामदारको तथ्यांक भने सरकारसँग नै छैन ।
 
कामदारको सुरक्षाप्रति सरकार गम्भीर छ
 
वैदेशिक रोजगारीमा कामदारको मृत्युको स्थति अत्यन्त गम्भीर विषयका रूपमा रहेको छ । त्यसको अध्ययन र मूल्यांकन गर्नुपर्ने देखिन्छ । सरकार पछिल्लो समय गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने प्रयासमा छ । त्यसमा कामदारको सुरक्षा, नियमित स्वास्थ्य परीक्षण, उपचार, मर्यादित कामलगायतका विषयलाई समेत समेट्नुपर्ने देखिन्छ । अर्कोतर्फ कामदारको अभिमुखीकरणसमेत प्रभावकारी नभएको भन्ने देखिन्छ ।
 
धेरैजसोको मृत्यु अस्वाभाविक छ
डा. रामेश कोइराला, मुटुरोग विशेषज्ञ, गंगालाल अस्पताल
 
मलेसियामा मृत्यु भएका कामदारको सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या धेरै छ । त्यसको वास्तविक कारण खोजी गर्न जरुरी छ । त्यसबाहेक युवा उमेरमै कामदारको प्राकृतिक कारणले मृत्यु भएको भनिन्छ । यो विषय अस्वाभाविक छ । बाँकी दुर्घटना, आत्महत्याजस्ता कारणबाट हुने मृत्यु त जहाँ पनि भइरहेकै हुन्छ ।
 
कुन मुलुकमा कतिको मृत्यु ?
मलेसिया- २४२८
साउदी अरब- १८३०
कतार – १३१६
युएई – ५१३
कुवेत – २०९
अन्य – ३६२
 
Published on: 28 June 2018 | Naya Patrika

Back to list

;