s

नेपाली कामदारको तलब कटौती गर्ने मलेसियाली कम्पनीलाई ९ लाख जरिवाना

नेपाली कामदारलाई मापदण्डअनुसार तलब सुविधा नदिने मलेसियाको एक कम्पनीलाई स्थानीय अदालतले करिब ९ लाख २१ हजार (३८, ४०० रिंगिट) रुपैंया जरिवाना गरेको छ । 
 
मलेसियाको पेताजिङ जयामा रहेको ‘ह्युमन कनेक्सन एचआर (एम) एसडिएन बिएचडी’ नामक कम्पनीलाई मलेसियाली अदालतले उक्त जरिवाना तोकेको हो ।
 
मलेसियामा रहेका फस्टफूड चेन रेष्टुराँ र ईलेक्ट्रोनिक्स कम्पनीहरुमा कामदार सप्लाई गर्दै आएको उक्त कम्पनीले त्यहाँ कार्यरत ८ जना नेपाली कामदारलाई ‘तलबमान नीति’ विपरित रकम कटौती गर्ने गरेकोले गत मे १७ मा सजायअनुरुप उक्त जरिवाना तोकिएको जनाइएको छ ।
 
ह्युमन कनेक्सनले उनीहरुलाई ‘ओउटसोर्सड् वर्कर’ का रुपमा म्याक डोनाल्ड्स रेष्टुरेण्टलाई ३ बर्षे करारमा सप्लाई गरेको थियो । अदालतले यसबारे गतबर्ष डिसेम्बरमा परेको मुद्दामा दुईसाताअघि उक्त निर्णय सुनाएको हो । उक्त अदालती निर्णयपछि ती नेपाली कामदारले झण्डै ८ महिनापछि न्याय पाएका छन् । उनीहरु चर्चित अन्तर्राष्ट्रिय फास्टफूड चेन रेष्टुराँ ‘म्याक डोनाल्ड्स’ र ईलेक्ट्रोनिक्स कम्पनी ‘सामसुङ’ मा कार्यरत थिए । यसबारे कान्तिपुरले गतबर्ष डिसेम्बर १५ मा समाचार प्रकाशन गरेको थियो । 
 
मलेसियाको स्थानीय अंग्रेजी दैनिक ‘द सन’ ले गत मे १७ मा प्रकासित गरेको एक रिपोर्टका अनुसार तलब कटौती गरेको र तोकेको मापदण्ड पूरा नगरेकाले उक्त जरीवाना दिइएको हो । 
 
मलेसियाले गत बर्ष ल्याएको नयाँ तलबमान नीति अनुरुप मासिक न्युनतम १ हजार रिंगिट दिनुपर्नेमा उल्टै ती ‘नेपाली कामदारको तलबबाट मासिक १ सय रिंगिट कटौती गर्ने र श्रमशोषण गर्ने गरेको’ खुलासा भएको थियो । यसबारे गतबर्ष नोभेम्बर २८ मा बेलायती पत्रिका ‘द गार्जियन’ ले एक खोजमूलक रिपोर्ट सार्वजनिक गरेको थियो ।
 
उक्त कम्पनीले ती कामदारलाई गतबर्ष सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको तलबबाट प्रतिकामदार १ सय रिंगिटका दरले तलब कटौती गरेको थियो । तलबमान नीतिअनुसार मलेसियामा नीजि क्षेत्रमा कार्यरत कामदारको न्युनतम मासिक तलब तलब एक हजार रिंगिट हो । उक्त ‘तलबमान नीति’ उल्लंघन गर्ने रोजगारदातालाई प्रति कामदार १० हजार रिंगिटका दरले जरिवाना हुने मलेसियाको कानुनी प्रावधान छ ।

Published on: 5 June 2017 | Kantipur

Back to list

;