s

नेपाली दूतावासमा एमआरपी लिनेको भीड

साउदी अरबस्थित नेपाली दूतावासमा गएको पुसमा साढे १४ सय जनाले राहदानीका लागि आवेदन दिएका छन्। आवेदन दिएका अधिकांशले हस्तलिखित राहदानीको साटो एमआरपी लिन लागेका हुन्। गत वर्ष पुषमा त्यहाँको दूतावासमा राहदानी लिन १ सय ६९ जनाले मात्र आवेदन दिएका थिए। 

अघिल्लो वर्षसम्म जापानस्थित नेपाली दूतावासमा महिनामा मात्र पाँच/छ जनाले मात्र राहदानीका लागि आवेदन दिन्थे। अहिले यो संख्या बढेर पाँच सय हाराहारी पुगेको छ। 
अस्टे्रलियास्थित नेपाली दूतावासले गत साता त्यहाँका नेपालीलाई आफ्नो हस्तलिखित राहदानी नवीकरण गरी एमआरपी लिन आह्वान गरेको छ। यस्तै आह्वान कतारस्थित नेपाली दूतावास पनि गर्योआ। कुवेतस्थित नेपाली दूतावासले एक वर्षअघि नै सकेसम्म हस्तलिखित राहदानीमा नआउन आग्रह गरिसकेको थियो। 

मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) का लागि आवेदन गर्नेको भीड बढेपछि अहिले विदेशस्थित नेपाली दूतावासका कर्मचारीलाई आवेदन बुझ्न र एमआरपी उपलब्ध गराउन हम्मे परेको छ। 


अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ पछि प्रयोग गर्न नमिल्ने हुँदैछन्। त्यसैले नेपाली दूतावासहरूले धमाधम सूचना जारी गर्दै एमआरपी लिन आह्वान गरिरहेका छन्। जसका कारण दूतावासमा एमआरपी लिन आउनेको संख्या ह्वात्तै बढेको छ। 


साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले राहदानीका लागि आवेदन दिने बढेपछि समस्या परेको बताए। 'एक दिनमै सयजनाभन्दा बढीले राहदानीका लागि आवेदन दिन थालेका छन्,' उनले भने।


हस्तलिखितको साटो एमआरपी बनाउन आउने बढेपछि काठमाडौंस्थित राहदानी विभागबाट एमआरपी बनेर जानसमेत ढिलाइ हुन थालेको छ। पहिला आवेदन बुझाएको दुई महिनामै साउदीमा रहेका नेपालीले राहदानी पाउँथे भने अहिले चार महिना लाग्न थालेको छ। 


'२०१३ सेप्टेम्बर १४ सम्म आवेदन दिएकाको राहदानी बल्ल दूतावासमा आइपुगेको छ,' पाण्डेले भने। उनका अनुसार आर्थिक वर्ष २०७०/०७१ सुरु भएयताको ६ महिना (पुससम्म) मा राहदानीका लागि ७ हजार ४ सय ६३ जनाले दूतावासमा आवेदन दिएका छन्। औसत मासिक करिब साढे १२ सय मानिस एमआरपी बनाउन दूतावास धाउने गरेका छन्। जबकि अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा राहदानीका लागि दूतावासमा आवेदन दिएकाको संख्या ४ सय ३ थियो। 


२०७० असोजमा मात्र २ हजार ५ सय ५८ जनाले एमआरपीका लागि साउदीस्थित दूतावासमा आवेदन दिएका थिए। परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले एक दिनमा चार हजार राहदानी जारी गर्नसक्छ। विभागको राहदानी जारी गर्ने क्षमताको आधा माग एउटै दूतावासबाट हुन थालेको छ। अहिले नेपालका दुई स्थायी नियोगसहित ३१ दूतावास विभिन्न देशमा छन्। 


राहदानी आवेदन संकलन गर्नै अप्ठेरो परेपछि साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयसँग थप दुई नायब सुब्बा पठाइदिन आग्रह गरेको छ। बिदाको दिन शुक्रबार र शनिबार पनि दूतावासले राहदानीको आवेदन बुझ्न थालेको छ। पाँच लाखभन्दा बढी नेपाली कामदार रहेको साउदीमा हस्तलिखितको सट्टा एमआरपी बनाउन आउने अझै बढ्नेछन्। त्यतिबेला समस्यासँग कसरी जुध्ने भन्नेबारेमा स्पष्ट योजना राहदानी बनाएर पठाउने परराष्ट्रसँग छैन। 


जापानमा करिब २८ हजार नेपाली छन्। तीमध्ये करिब १८ हजारसँग हस्तलिखित राहदानी रहेको अनुमान छ। १८ हजारमध्ये पनि तीन हजारले पछिल्लो दुई वर्षमा एमआरपी लिइसकेका छन्। अहिले पुरानो राहदानी वाहकहरू एमआरपी बनाउन आउने क्रम ह्वात्तै बढेपछि जापानस्थित दूतावासलाई पनि आवेदन बुझ्न अप्ठेरो परेको छ।


युनाइटेड अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासमा पनि राहदानीका लागि अहिले मासिक करिब एक हजार हाराहारी आवेदन पर्न थालेको छ। अघिल्लो वर्ष यो संख्या ६० देखि डेढ सय थियो। दूतावासमा आवदेन दिनमध्ये अधिकांश हस्तलिखितको साटो एमआरपी बनाउन खोज्ने छन्। 
कतारस्थित नेपाली दूतावासमा पनि एमआरपी बनाउन आउनेको संख्या एक हजार पुग्न लागेको छ। अघिल्लो वर्षसम्म यो संख्या निकै सानो थियो। पछिल्लो तीन महिनामा मात्र दूतावासमा हस्तलिखितको साटो एमआरपी बनाउन आउनेको संख्या साढे दुई हजार पुगेको छ। 


वैदेशिक रोजगारका लागि आकर्षक राष्ट्र मानिएका मलेसिया तथा खाडी मुलुकमा मात्र होइन, विश्वका अन्य देशमा रहेका नेपाली दूतावासमा पनि अहिले हस्तलिखित राहदानीको सट्टा एमआरपी बनाउन आउनेको भीड बढ्दो छ। हस्तलिखित राहदानी काम नलाग्ने हुने मिति जति नजिकियो एमआरपी बनाउन दूतावासमा आउनेको संख्या त्यति नै बढ्दै गएको छ। भीड बढ्न थालेपछि केही दूतावासले बिदाको दिनमा पनि राहदानीको आवेदन बुझिरहेका छन् भने केही दूतावासले एमआरपी लिन कोही नछुटून् भनेर सूचना प्रकाशित गरेर त्यहाँ रहेका नेपालीलाई छिटो एमआरपी लिन भनिरहेका छन्। 


आइकाओको प्रावधानअनुसार हस्तलिखित राहदानी अझै करिब २२ महिना प्रयोग गर्न सकिने भए पनि प्राविधिक रूपमा यस्ता राहदानी अबको १६ महिनापछि प्रयोगमा ल्याउन सकिने छैन। समयावधि ६ महिनाभन्दा कम रहेको राहदानीमा नयाँ भिसा दिने गरिँदैन। प्राविधिक रूपमा हस्तलिखित राहदानीमा सन् २०१५ मे २४ सम्ममात्र भिसा लाग्छ। 


आइकाओको प्रावधानअनुसार विभागले हस्तलिखित राहदानी बन्द गरी एमआरपी वितरण सुरु गरेको गएको पुसमा तीन वर्ष पूरा भएको छ। विभागका अनुसार तीन वर्षमा विभागले १५ लाख एमआरपी जारी गरिसकेको छ। एमआरपी लिने सेवाग्राहीमध्ये ६० प्रतिशत नयाँ र ४० प्रतिशत पुराना (हस्तलिखत राहदानी रद्ध गरी एमआरपी लिने) छन्। हालसम्म ६ लाख हस्तलिखित राहदानीवाहकले एमआरपी लिइसकेका छन्। 


विभागका अनुसार अब १५ लाख हस्तलिखित राहदानीवाहकले एमआरपी लिन बाँकी छ। अबको १६ महिनामा विभागले नयाँ वाहकलाई एमआरपी उपलब्ध गराउनु त छँदैछ, प्रयोगमा रहेका हस्तलिखित राहदानी विस्थापित गरी एमआरपी उपलब्धसमेत गराउनुपर्नेछ। पुरानो राहदानी विस्थापित गर्न नसके विदेशमा रहेका सबै हस्तलिखित राहदानीवाहक एकसाथ सन् २०१५ नोभेम्बर २४ दिनबाट अवैध हुन्छन्। 


अहिले विभाग, जिल्ला र विदेशस्थित नेपाली नियोगले दैनिक ८ हजारभन्दा बढी राहदानी फारम बुझ्ने गरेका छन्। विभागमा मात्र राहदानीका लागि दैनिक साढे २ हजार हाराहारी आवेदन पर्ने गर्छ। एमआरपी वितरण गर्दा सुरुका दिनमा यो संख्या एक हजार हाराहारी थियो। पुसमा विभागले ८० हजार हाराहारी राहदानी उत्पादन गरेको थियो। माघमा यो संख्या ९० हजार पुर्यापउने विभागको लक्ष्य छ। हस्तलिखित राहदानी मात्र विस्थापित गर्न अबको १६ महिनामा विभागले मासिक करिब ९४ हजार राहदानी जारी गर्नुपर्छ। सँगै नयाँ राहदानीवाहकलाई उपलब्ध गराउनु छ। 


'राहदानी उत्पादन क्षमता बढाउन नयाँ लेमिनेसन प्रविधि भित्र्याउने, अनलाइन फारम बुझ्नेलगायतका प्रक्रियामा छलफल भइरहेको छ। नयाँ प्रविधि र योजना कार्यान्वयनमा आएपछि अहिलेको भन्दा धेरै राहदानी जारी गर्न सकिन्छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले भने, 'तर हस्तलिखित राहदानी विस्थापित गर्नकै लागि भनेर विशेष योजना भने बनाएका छैनौं।'

साउदीमा एमआरपी लिन परेका आवेदन

महिना २०७० साल २०६९ साल
साउन ५६९ २५
भदौ ५६९ ४४
असोज २,५५८ ४४
कात्तिक ५४६ ३१
मंसिर १,७८७ ९०
पुस १,४३४ १६९
जम्मा ७,४६३ ४०३

                   

 

Published on: 4 February 2014 | Nagarik 

Back to list

;