s

नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा नेपालको रोजगारी गुम्न सक्ने

वैदेशिक रोजगारीको गन्तव्य मुलुकका दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा नेपालले रोजगारीको अवसर गुमाउन सक्ने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताएका छन् । कोरोना संक्रमणको अहिलेको अवस्थामा पनि खाडीलगायत युरोपियन मुलुकबाट पनि रोजगारीको अवसर आउन थालेको छ । तर, दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा रोजगारदाता अन्य मुलुकतर्फ मोडिएको उनले बताए ।

सरकारको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अन्तिम श्रम स्वीकृति खुला गरेको छ । तर, पूर्वस्वीकृति भने खुलाएको छैन । विदेशस्थित नेपाली दूतावासहरूले अझै मागपत्र प्रमाणीकरण सेवा सुरु नगर्दा विभागले नयाँ श्रम स्वीकृति नखुलाएको हो । लकडाउनअगाडि आएको मागपत्रलाई मात्रै विभागले अहिले अन्तिम स्वीकृति दिएको हो । महासचिव श्रेष्ठका अनुसार यतिवेला दुबई, साउदी अरब, रोमानिया, पोल्यान्ड, पोर्चुगल, क्रोएसियालगायतका मुलुकबाट नयाँ डिमान्ड आउन थालेको छ ।

कोरोना संक्रमणका कारण लामो समय आप्रवासी कामदारलाई प्रवेशमा रोक लगाएका केही मुलुकहरूले अहिले खुला गर्न थालेका छन् । केही मुलुकले नयाँ श्रमिकका लागि पनि प्रवेश खुला गरेका छन् भने केहीले बिदामा आएका श्रमिकलाई पुनः प्रवेशका लागि खुला गरेका छन् । साउदी अरब, दुबई, ओमान, बहराइनले मात्रै आप्रवासी श्रमिकलाई खुला गरेको छ । तर, मलेसिया, कतार, युएईलगायतका मुलुकले भने अझै पनि नयाँ श्रमिकका लागि प्रवेश खुला नगरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।

 दूतावासलाई मागपत्र प्रमाणीकरणको निर्देशन दिन श्रम मन्त्रालयको परराष्ट्रलाई आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मागपत्र प्रमाणीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले वैदेशिक रोजगार खुला गरे पनि सम्बन्धित मुलुकका दूतावासहरूले मागपत्र प्रमाणीकरण नगरिदिएको व्यवसायीहरूले गुनासो गरेपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी दूतावासहरूलाई यस्तो निर्देशन दिन आग्रह गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्ने देखिएपछि नेपाल सरकारले गत २९ फागुनदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो । त्यस्तै, संक्रमणका कारण गन्तव्य मुलुकहरूले पनि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाए । तर, रोजगारीबाट बिदामा आएका श्रमिकहरूलाई केही मुलुकले प्रवेश खुला गरेपछि नेपाल सरकारले गत १८ असारबाट पुनः श्रम स्वीकृति र १४ भदौबाट नयाँ श्रम स्वीकृति खोल्ने निर्णय गरेको होे । मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार खुला गरे पनि दूतावासले भने माग प्रमाणीकरण नगरेको व्यवसायीहरूको गुनासो छ । 

 १ लाख ३३ हजार नेपाल फर्किए

कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा गएका १ लाख ३३ हजार २ सय ५८ नागरिक नेपाल फर्किएका छन् । कोरोना संकट व्यवस्था केन्द्रको तथ्यांकअनुसार बिहीबारसम्ममा सो संख्यामा नागरिक नेपाल फर्किएका हुन् । बिहीबार मात्रै १ हजार १ सय ६९ नेपाल फर्किए । जसमध्ये कतारबाट १० जना विदेशी नेपाल आएका छन् । टर्कीबाट १७ र बंगलादेशबाट १ जना नागरिक नेपाल प्रवेश गरेका छन् । केन्द्रको तथ्यांकअनुसार गत असोज महिनामा सबैभन्दा धेरै ४५ हजार २ सय ३० जना नेपाल  फर्किएका छन् । त्यस्तै, असारमा २८ हजार १ सय २५, साउनमा २३ हजार ३ सय १६ र भदौमा १४ हजार ८ सय ७८ जना नेपाल फर्किएका छन् ।

Published on: 6 November 2020 | Nayapatrika

Link

Back to list

;