s

नेपाली विद्यार्थीलाई रोजगारीमै लैजान इजरायल सरकारको प्रस्ताव

३ पुस, काठमाडौं । ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ ।

आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए ।

कृषि अध्ययन अन्तर्गत इजरायलमा लर्न एण्ड अर्न (सिक र कमाऊ) कार्यक्रम अन्तर्गत गएका विद्यार्थी छोटो अवधि काम गरेर नेपाल फर्किने गरेका थिए । फर्केकामध्ये इच्छुक विद्यार्थीहरुलाई श्रम स्वीकृति दिएर पठाउन प्रस्ताव गरेको पोखरेलको भनाइ छ ।

तर इजरायलमा हाल युद्ध नरोकिएका कारण तत्काल पठाउने कि नपठाउने भन्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

‘इजरायलमा युद्ध जारी भएकाले अहिले नै पठाउने भन्ने छैन’, पोखरेलले भने, ‘यसबारे छलफल हुन बाँकी छ । त्यसपछि मात्र सुरक्षाको संवदेनशीलता हेरेर पठाउने कि नपठाउने निर्णय गर्छाैं ।’

उनका अनुसार इजरायलबाट सुरुमा एक हजार श्रमिकको माग भएको छ । पछि यो संख्या बढाउन सक्ने पनि बताएको पोखरेलले बताए ।

गत ७ अक्टोबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्, त्यस्तै ४ जना घाइते भएका थिए ।

उनीहरु सबै सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलस्थित कृषि फार्ममा काम गर्न गएका थिए ।

यो कार्यक्रमका लागि इजरायलले सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालको कृषि संकायका विद्यार्थी लैजाने गरेको थियो । तर ७ अक्टोबरको आक्रमणपछि विद्यार्थी इजरायल गएका छैनन् ।

हालसम्म ३२०० विद्यार्थी यो कार्यक्रम अन्तर्गत इजरायल गइसकेका छन् ।

Published on: 20 December 2023 | Onlinekhabar

Link

Back to list

;