s

नेपाली बन्द गरी भारतीय उद्योग चलाउँदै युनिलिभर

कृष्ण सारु मगर

हेटौंडामा सञ्चालित बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडले नेपाली उद्योगीको लगानी रहेको सहायक उद्योग धमाधम बन्द गर्न थालेको छ। त्यसको सट्टा भारतीय लगानी रहेको सहायक उद्योग खोल्न थालेको हो।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिलिभरका तीनवटा सहायक उद्योगमध्ये दुईवटा बन्द गरिएको छ। युनिलिभरका लागि सनसिल्क क्लिनिक प्लस उत्पादन गर्दै आएको गंगा सोप उद्योग र पाँच किसिमका सर्फ उत्पादन गर्दै आएको युनिक सोप बन्द गरिएको हो। यी दुई उद्योग बन्द गरेर भारतीय लगानी रहेको आरएम केमिकल उद्योग खोलिएको छ।
 
युनिलिभरले उद्योग बन्द गर्दा उद्योगी र मजदुरलाई क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै नेपाली उद्योगी र मजदुर आन्दोलित छन्। ‘हाम्रो उद्योगको सम्झौता नवीकरण पनि गरिएन, उत्पादन भएको सामानको पैसा पनि दिएको छैन’, गंगा सोपका सञ्चालक इन्द्र बानियाँले भने, ‘तर भारतीय लगानी रहेको सहायक उद्योग खोलिएको छ।’ नेपाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारि श्रमिक र सीबीए लागू गर्न नसक्ने भनेको युनिलिभरले भारतीय लगानीमा रहेको सहायक उद्योगमा भने सबै विषय लागू गरेको बानियाँको दाबी छ।
 
गंगा सोप एक महिनादेखि बन्द छ। उद्योगमा उत्पादित कच्चा पदार्थ युनिलिभरले लिएको छैन भने उद्योग बन्द गरेपछि मजदुरलाई क्षतिपूर्तिस्वरूप दिनुपर्ने रकम पनि युनिलिभरले नदिएको सञ्चालक बानियाँले बताए। उनका अनुसार गंगा सोपले दुई करोड रुपैयाँ युनिलिभरसँग लिन बाँकी छ।
 
युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज आठ महिनाअघि नै बन्द भइसकेको छ। उक्त उद्योगमा एक सय २३ जना कामदार कार्यरत थिए। युनिलिभरले क्षतिपूर्ति नदिएपछि उद्योगले करिब डेढ करोड रुपैयाँ मजदुरलाई क्षतिपूर्ति दिनुपरेको सञ्चालक नवराज अर्यालले बताए।
 
‘मेसिन पनि युनिलिभरको हो, मजदुर पनि युनिलिभरकै लागि काम गर्ने हो’, उनले भने, ‘तैले उत्पादन गरेको सामान मात्र हाम्रो हो अब त्यो पनि चाहिँदैन भनेर उद्योग बन्द गरिएको छ।’ युनिक सोपले युनिलिभरबाट सामानको बक्यौतासँगै मजदुरको क्षतिपूर्ति बापत डेढ करोड रुपैयाँ लिन बाँकी रहेको अर्यालले बताए।
 
मजदुर आन्दोलित
 
निरन्तर उद्योग सञ्चालन, रोजगारीको सुनिश्चितता र उचित क्षतिपूर्तिको व्यवस्था माग गर्दै दुई उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन्। उनीहरूले एक साताभित्र आफ्ना माग पूरा नभए युनिलिभर लिमिटेडको मुख्य गेटमा शान्तिपूर्ण धर्ना सुरु गर्ने जनाएको छ।
 
‘पाँच सयभन्दा बढी मजदुरलाई बेरोजगार बनाउने काम भएको छ’, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष गंगा भट्टराईले भने, ‘उद्योग बन्द गर्दा बेरोजगार बनेका मजदुरको पुनर्बहाली नभएसम्म हामी आन्दोलन जारी राख्छौं।’
 
पुराना मजदुर राख्दा मासिक १० लाख रुपैयाँभन्दा बढी व्ययभार पर्ने र नेपाली उद्योग बन्द गर्दा आफ्नै सहायक उद्योग सञ्चालन गर्न पाउने भएपछि नेपाली सहायक उद्योग बन्द गरिएको अखिल नेपाल ट्रेड युनियम महासंघ (जिफन्ट) का जिल्ला अध्यक्ष श्याम श्रेष्ठको दाबी छ।
 
‘युनिलिभरले नेपाली मजदुर र नेपाली उद्योगीलाई हटाउन खोजेका हुन्, हामी त्यसो हुन दिँदैनौं’, उनले भने। यसबारे हेटौंडास्थित युनिलिभरका प्रतिनिधिले आफूलाई बोल्ने अधिकार नभएको बताएका छन्। युनिलिभरमा ६० प्रतिशतभन्दा बढी भारतीय लगानी छ।
 
Published on: 23 May 2019 | Annapurna Post

Back to list

;