s

‘नेपाली बालबालिका बेचिने क्रम बढ्दो’

चन्द्रशेखर अधिकारी, दिनेशजंग शाह
 
राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढ्दो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम नचालेकामा आफ्नो ध्यानाकर्षण भएको पनि राष्ट्रसंघले जनाएको छ । 
 
न्युयोर्कस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय अधिकारीहरूले घर र पढाइ छाड्न बाध्य भएका तथा जोखिममा रहेका बालबालिकाप्रति चनाखो रहन पनि नेपाल सरकारलाई आग्रह गरे । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण नेपालमा ८० हजारभन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको पनि राष्ट्रसंघको तथ्यांक छ । 
 
बेलायतका पूर्वप्रधानमन्त्री गोल्डेन ब्राउन नेतृत्वको समूहले राष्ट्रसंघ महासभामा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली टोलीलाई पनि नेपाली बालबालिकाको अवस्थाबारे जानकारी गराएको थियो । ब्राउनले नेपालको द्वन्द्वकालमा बालबालिकाको समस्या र शिक्षाको पहुँचबारे पनि धारणा राखेका थिए । त्यही समयदेखि नै नेपालका बालबालिका भारत र अन्य मुलुकमा बेचिने गरेको तथ्यांक उनले प्रस्तुत गरेका हुन् । ‘नेपालबाट ठूलो संख्यामा बालबालिका तस्करी गरेर भारत र अन्य देशमा बेचिन्छन् । मानव तस्करहरूले संगठित रूपमा बालबालिकाको डरलाग्दो व्यापार गरिरहेका छन् । राष्ट्रसंघ मात्र होइन, नेपाल सरकारले पनि त्यसलाई रोक्न कदम चाल्नैपर्छ । आरम्भमा हामीले बालबालिकालाई विद्यालय फर्काउने र बेचबिखन हुने अवस्था रोक्ने नै हो,’ उनले भने । ब्राउन विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका विशेष दूत हुन् । उनले विश्वका बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने अभियान नै चलाएका छन् । विश्वमा हरेक ६ सेकेन्डमा एक बालबालिका विस्थापित भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको अवस्थाका बारेमा विवरण प्रस्तुत गरेका थिए । 
 
विश्वभर ७ करोड ५० लाखभन्दा बढी बालबालिकाले आपतकालीन अवस्थामा मानवीय सहायता पर्खिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय नेपालमा ८० हजार बालबालिका शिक्षाको पहुँचबाट वञ्चित भएको अवस्थामा रहेको बताए । ब्राउनले ती नेपाली बालबालिकाको पुन:स्थापनामा राष्ट्रसंघले सहयोग गर्ने र यसमा नेपाल सरकारको पनि ध्यान जानु आवश्यक रहेको बताए । दुई वर्षअघिको भूकम्पका कारण पहाडी भेगका नेपाली बालबालिकाले बेहोरेको समस्या नसकिँदै पुन: तराई भेगका बालबालिकाले पनि भीषण बाढीको समस्या भोग्नुपरेको र पुन: हजारौं नेपाली बालबालिका विद्यालय छाड्न बाध्य भएको उनले बताए । पत्रकार सम्मेलनमा अधिकांशले नेपालका बालबालिकाको बिक्री र दासत्वका बारेमा जिज्ञासा राखेका थिए । 
 
शिक्षाको अवसरबाट वञ्चित बालबालिकाको हितमा काम गर्न राष्ट्रसंघले ‘शिक्षाले पर्खंदैन’ भन्ने कोष नै खडा गरेर विश्वव्यापी रूपमा रकम जम्मा गरेको छ । सुरुको एक वर्षमा १५ करोड डलर (१५ अर्बभन्दा बढी) जम्मा भइसकेको उल्लेख गर्दै बेलायती पूर्वप्रधानमन्त्री ब्राउनले त्यो रकम विकराल समस्या समाधान गर्न अपुग हुने बताए । उनले थोरै रकमबाट पनि राष्ट्रसंघले बालबालिकाको समस्या समाधान गर्न काम गर्दै अघि बढ्ने बताए । ब्राउनले ब्रिफिङमा भने, ‘अब नेपालमा हाम्रो थप ध्यान जानेछ र शिक्षामा सहयोग गरिरहेका मुलुकले पछिल्लो अवस्थाप्रति नेपाललाई मद्दत गर्नेछन् ।’
 
उनले बालबालिका शिक्षाबाट वञ्चित भएसँगै उनीहरू भारतमा बेचिने विकराल अवस्थाबारे पनि चिन्ता व्यक्त गरे । विश्वभर तीन करोड बालबालिका घरबार र शिक्षाबाट वञ्चित भएको र शोषणको जोखिममा रहेको ब्राउनले उल्लेख गरेका थिए ।
 
Published on: 27 September 2017 | Kantipur

Back to list

;