s

नेपाली अलपत्र बनाउनेका नाममा 'रेड कर्नर नोटिस’ आउने

वैदेशिक रोजगार विभागले इराक, अफगानिस्तानलगायतका प्रतिबन्धित मुलुकमा कामदार लगेर अलपत्र बनाउने अथवा दिल्ली, दुबई नाकामा बिचल्ली बनाउने दलालविरुद्ध 'रेड कर्नर नोटिस' जारी गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा मोटो रकम असुलेर नेपाली कामदार बिचल्ली पार्ने १० एजेन्टको नामावली तयार पारिएको र उनीहरूको स्थायी ठेगानाको पूर्ण विवरण पत्ता लगाउने काम भइरहेको विभागले जनायो ।

विभागका अनुसन्धान अधिकृत हरिसिंह धामीका अनुसार ती दस जनामा दामोदर ढकाल -चितवन), मदन पराजुली -भैरहवा), कृष्णकुमारी पराजुली -मदनकी श्रीमती), लबकुमार अधिकारी -कीर्तिपुर), शिवशंकर बुढाथोकी -गोरखा), टेकबहादुर गुरुङ -मिसन ओभरसिज, काठमाडौं), सन्तोष घिमिरे -ललितपुर), तारानाथ भट्टराई -झापा), सिरिलकुमार श्रेष्ठ -चितवन) र बाबुराम भट्टराई -झापा) छन्् ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वयमा यससम्बन्धी काम भइरहेको विभागले जनायो ।

उनीहरूमध्ये अधिकांश दिल्लीलाई ठगीको नाका बनाएर बसी अफगानिस्तानको नक्कली भिसा लगाउने, चार्टर प्लेन बन्दोबस्त गर्ने र नक्कली कम्पनीको अन्तर्वार्ता गराउनु सक्रिय रहेको जानकारी अधिकृत धामीले दिए । यीमध्ये चितवनका सिरिलकुमारले कामदारलाई युरोप लैजाने भन्दै एक जना बराबर १२ लाख रुपैयाँ उठाएर थाइल्यान्ड हँुदै भियतनाममा लगेर अलपत्र बनाएका थिए ।

'अब नेपाली ठगेर विदेशका जुनै कुनामा लुकेर पनि धन्दा चलाउन नसकिने अवस्था अब उब्जिएको छ,' धामीले भने । विभागका स्रोतका अनुसार पछिल्लो पटक अफगानिस्तान लगेर १० जना युवालाई अलपत्र बनाउने मिलन थापा -दिल्ली) र गोपाल -खेतार) कार्की -काबुल) को खोजीमा पनि रेड कर्नर नोटिस जारी गर्न पहल हुने जनाए ।

Published on: 14 July 2012 | Kantipur

Back to list

;