s

नेपालबाट निकाला गरिएका इरानी टर्कीबाट फर्काइए

जनकराज सापकोटा
 
इरानी नागरिक हमिद रेजा कारगर आठ दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको आगमन शाखा छेउको एउटा कोठामा बसिरहेका छन् । हमिद तिनै नागरिक हुन्, जसलाई ५ भदौमा गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपालबाट प्रस्थान भएको मितिले पाँच वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी देशनिकाला गर्ने निर्णय गरेको थियो । निष्कासित हमिद एक सातायता किन नेपालमै बसिरहेका छन् ? यो थाहा पाउन भने गएको चैत अन्तिम साताको घटनासम्मै पुग्नुपर्छ ।
 
२०७३ चैत २८ मा काठमाडौं ओर्लेका हमिद झन्डै महिना दिन काठमाडौंमै घुमिरहे । अमेरिका वा युरोपेली मुलुक पुगेर शरणार्थीको हैसियतमा बस्ने सपना देखेर उनी नेपाल आएका थिए । नक्कली पासपोर्टको सहारा लिएर भारतको बाटो हुँदै युरोपेली मुलुक जाने दाउमा रहेका हमिद काठमाडौंबाट भारत त पुगे तर नयाँदिल्लीस्थित विमानस्थलमा अध्यागमन अधिकारीको फन्दामा परे । 
 
दिल्ली विमानस्थलबाट उनलाई सोझै काठमाडौं फर्काइयो । त्यसपछि सुरु भयो– हमिदमाथि कानुनी कारबाहीको सिलसिला । भदौ पहिलो साता गृह मन्त्रालयले चार फरक–फरक कारण देखाउँदै हमिदलाई देशनिकालाको निर्णय गर्‍यो । गृहले ओभरस्टे, नक्कली पासपोर्ट, नेपालको जारी कानुन उल्लंघन र अध्यागमनसम्बन्धी नेपाली कानुनसँग अमिल्दो बसाइ भन्दै यस्तो निर्णय गरेको थियो । 
 
गृहले यस्तो निर्णय गरेको दुई महिनापछि मात्र हमिद ४ कात्तिकमा टर्किस एयरलाइन्सको विमानमार्फत टर्की उडे । टर्कीबाट इरान जाने भनेर उडेका उनले टर्कीको इस्तानबुल विमानस्थलमा ओर्लेलगत्तै आफूसँग भएको कागजात च्यातेर विमानस्थलबाटै भाग्न खोजे । टर्किस प्रहरीले हमिदलाई पक्राउ गर्‍यो र दुई दिनपछि दुई टर्किस प्रहरीले उनलाई टर्किस एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिदिए । यसरी उनी तेस्रोपटक नेपाल आइपुगे । त्यसयता उनी त्रिभुवन विमानस्थल परिसरमै छन् ।
 
विभिन्न एयरलाइन्सका कर्मचारी र मनकारीहरूले मानवीयताका नाताले चन्दा उठाएर हमिदलाई खानाको जोहो गरिरहेका छन् । न उनी विमानस्थलबाट बाहिर निस्केर हिँड्ने अवस्थामा छन्, न आफ्नै देश फर्कन सक्छन् । हमिदलाई के गर्ने भन्नेमा अध्यागमन विभाग पनि अन्योलमा छ । अध्यागमन स्रोतका अनुसार हमिद कुनै पनि हालतमा इरान नफर्कने अडानमा छन् । जबर्जस्ती फर्काइए आफ्नो ज्यानमाथि खतरा रहेको उनको भनाइ छ । उनी कुनै मानव तस्करको निर्देशनमा नेपाल हुँदै युरोप छिर्न खोजेका हुन् कि भन्ने आशंका गरे पनि अध्यागमनले त्यसका आधार फेला पारिसकेको छैन, न आफ्नो देश फर्कन नसक्नुको कारण नै पत्तो लगाएको छ । 
 
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले हमिदको केसमा के गर्ने भन्ने निर्णय भइनसकेको बताउँछन् । काफ्लेका अनुसार हमिदलाई देशनिकालाको निर्णय गरे पनि मानवीयताका आधारमा बस्न दिइएको हो । उनले भने, ‘हमिद इरान फर्कन सक्ने अवस्थामा पनि देखिँदैनन् । उनलाई अरू देश पठाउन पनि मिल्दैन ।’ देशनिकालाको सरकारी निर्णयविरुद्ध गएर हमिदलाई देशभित्रै राख्न सक्ने कानुनी व्यवस्था पनि छैन । ‘कानुनभन्दा बाहिर गएर मानवीयताका आधारमा मात्रै निर्णय गर्न सकिँदैन । छिट्टै के गर्ने भन्ने निष्कर्षमा पुग्छौं,’ उनले भने ।
 
अन्य देशको हकमा देशनिकाला गरिएका नागरिकलाई सम्बन्धित देश पठाउँदा सुरक्षा खतराको मूल्यांकनका आधारमा सुरक्षाकर्मीसहित पठाउने र सम्बन्धित देशको अध्यागमन अधिकारीलाई जिम्मा लगाउने चलन छ । तर आर्थिक व्ययभार पर्ने भएकाले नेपालबाट देशनिकाला गरिनेहरूको साथमा सुरक्षाकर्मी राखेर पठाइने चलन छैन । महानिर्देशक काफ्लेले भने, ‘यो हाम्रा निम्ति पनि नयाँ घटना भयो ।’
 
Published on: 2 November 2017 | Kantipur

Back to list

;