s

नेपाल छिर्ने ‘मौका’ हेर्दै पाँच हजार युवा

भीम चापागाईं 

इलाम – पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका ठूलो संख्याका नेपाली युवा स्वदेश फर्किने तयारीमा छन् । दार्जिलिङ, मिरिक, कापिम्पोङ, सिक्किम लगायत क्षेत्रमा रहेका ५ हजार हाराहारी युवा पशुपतिनगर नाका र आसपासबाट नेपाल छिर्ने ‘मौका’ हेरिरहेका छन् ।

तीमध्ये ६० देखि ७० को संख्याका युवा पशुपतिनगरनजिकै रहेको भारतीय क्षेत्रमा सीमा कटेर आउने समय कुरेर बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता नै ८/१० युवा रातिको समय पारेर सुरक्षाकर्मीको आँखा छल्दै भित्रिएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको प्रशासनकै भनाइ छ । इलाममात्र नभई दोलखालगायत जिल्लाबाट हजारौं युवा मौसमी काम गर्न भारत गएका छन् । उनीहरू वर्षमा ८ महिना उता काम गरेर अरू समय घर फर्किने गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले ५ हजार हाराहारी युवा पशुपतिनगरलगायतका नाकाबाट भित्रिने अनुमान गरिएको बताए । ‘भारतका विभिन्न स्थानमा काम गर्न गएका ठूलो संख्याका युवा भारतमा लकडाउन खुकुलो हुनेबित्तिकै नेपाल आउन तयार भएर बसेका छन्,’ उनले भने, ‘सम्बन्धित जिल्लाका जनप्रतिनिधिसमेतले आफ्ना युवा यहाँबाट भिœयाउन हामीमार्फत् प्रयत्न गरिरहेका छन् ।’ 

दार्जिलिङमा काम गर्न गएका दोलखाका करिब ७० युवा ४ घण्टा पैदल हिँडेर पशुपतिनगर नाकानजिकै आएपनि उनीहरूलाई सम्झाएर उतै फर्काएको प्रजिअ सेढाईंले बताए । ‘अहिले नाकामै आएर त कोही थुप्रिएका छैनन् तर लकडाउन खुकुलो हुनेबित्तिकै आउन चाहने युवाले बारम्बार हामीसँग सम्पर्क गरिरहेका छन् ।’ 

सीमा कटेर आउनसक्ने युवालाई लक्षित गरी नाकामा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । अहिले इलामसँग भारतको सीमा जोडिएको साढे ५२ किलोमिटर भू–भागमा सशस्त्र प्रहरी बलका १६ र नेपाल प्रहरीका १२ इकाई रहेको प्रशासनले जनाएको छ । ‘नाकाबाट आउनसक्ने युवालाई मध्यनगर गरेर जिल्लामा थप २ हजार जना अटाउने क्वारेन्टाइन तयार गरिँदैछ,’ प्रजिअ सेढाईंले भने, ‘आउँदो ५ गतेभित्रमा यी क्वारेन्टाइन तयार गर्ने लक्ष्य छ ।’ 

चैत ११ मा लकडाउन सुरु भएयता पूर्वी सीमाबाट सयौं युवा घर फर्किएका छन् । खुला सीमामा सुरक्षाकर्मी पनि नभएको मौका पारेर इलामका मानेभञ्ज्याङ, पशुपतिनगर, इरौंटार, छब्बिसे, गुफापाताल, हिलेलगायत नाकाबाट नेपाली युवा भित्रिएपछि स्थानीयमा समेत त्रास बढेको थियो । तर, उनीहरू भित्रिएको करिब ३ साताभन्दा बढी बितेकाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम केही कम भएको आँकलन स्थानीयलाई छ । ‘अहिले चाहिँ नाकाहरूबाट लुकेर कोही छिरेको छैन,’ प्रअिज सेढाईंले भने ।

Published on: 15 May 2020 | Nagarik

Link

Back to list

;