s

नेपाल- भारत सीमाबाट कर्णालीका ५७ नागरिकको उद्दार, ४३ ल्याइँदै

नगेन्द्र उपाध्याय

सुर्खेत- कर्णाली प्रदेश सरकारले ‘लकडाउन’का कारण नेपाल–भारत सीमा रुपैडीहामा अलपत्र परेका कर्णालीका ५७ जनाको उद्दार गरेको छ। मंगलबार राति उद्दार गरिएका उनीहरुलाई वीरेन्द्रनगरको अशोका होटलमा राखिएको छ। उद्दार गरिएका मध्ये तीन जना बालबालिका छन्।

प्रदेश सरकारले मंगलबार कर्णालीका नागरिकको उद्दारका लागि निःशुल्क हटलाइन सेवा शुरु गरेको थियो। हटलाइनमा आएका गुनासाका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा उनीहरुको उद्दार गरिएको हो। बाँके प्रशासनले बसमा कर्णालीका नागरिकहरुलाई वीरेन्द्रनगरसम्म पुर्‍याएको थियो।

रुपैडिहाबाट विहान दुई बजे वीरेन्द्रनगर पुर्‍याएर उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो। सो क्रममा ज्वरोलगायतका कुनै पनि लक्षणहरु नदेखिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए। ‘उद्दार गरेर ल्याइएका नागरिकहरुलाई वीरेन्द्रनगरमै राख्ने वा सम्वन्धीत गन्तब्यसम्म पुर्‍याउने भन्ने विषयमा अहिले बैठक बस्दैछौं,’ मन्त्री रावलले भने, ‘सम्वन्धीत स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निश्चित भएमा मात्रै पठाउँछौं, अन्यथा वीरेन्द्रनगरमै उनीहरुहलाई निगरानीमा राख्छौं।’

प्रदेश सरकारले गड्डाचौकीबाट ४३ जनाको उद्दार गरेको छ। उनीहरुलाई दिउँसोसम्म वीरेन्द्रनगर ल्याइने छ। प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार बेडको क्यारेन्टाइन बनाउन नेपाली सेनालाई जिम्मा दिएको छ। नेपाली सेनाले चार सय क्वारेन्टाइन तयार गरेपनि शौचालय, पानीलगायतको सुविधा नभएकाले तत्कालका लागि होटलमा राखिएको मन्त्री रावलले जानकारी दिए।

Published on: 25 March 2020 | Nagarik

Link

Back to list

;