s

नेपाल आउन थाले भारतको धार्चुलाको क्वारेन्टिनमा रहेका नेपाली

महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किन सुरू गरेका छन्।

करिब ५० जना बैतडीको नाकाबाट नेपाल प्रवेश गरिसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले सेतोपाटीलाई बताएका छन्।

दार्चुलाबाट पनि उनीहरूको नेपाल प्रवेश सुरू भएको छ।

दार्चुला र बैतडीका तीनै नाकाबाट उनीहरू नेपाल प्रवेश गर्न सुरू गरेका छन्।

उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा बैतडीको झुलाघाट नाकाबाट प्रवेश पाउनेछन्।

एक महिना भन्दा बढी भारतको पिठौरागढको विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका उनीहरूलाई दुबै पक्षबिच सहमति भएपछि बिहिबार नेपाल फर्काउन निर्णय भएको थियो।

 'एक हप्ता जति भयो हामी उहाँहरूलाई फर्काउने पहलमा लागेको,'दार्चुलाका सिडिओ यदुनाथ पौडेलले भने,'अनि आज नाका खोल्ने कुरा भयो। अब केही बेरमा खुल्ला।'

क्वारेन्टिनमै दैनिक स्वास्थ्य परीक्षण गरिएपनि सुरक्षाका लागि नेपालमा पनि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ।

'उता तीस दिन भन्दा बढी बसिसकेका छन् कुनै रोग देखिएको छैन,'उनले भने,'तैपनि सुरक्षाका लागि पालिका अन्तर्गतको क्वारेन्टिनमा १४ दिन राख्छौं।' 

दार्चुलाको नाकाबाट मात्रै करिब एक हजार बढी फर्किदैछन् भने बैतडीको नाकाबाट फर्किनेको संख्या करिब छ-सात सय रहेको छ। 

तर, यो संख्या ठ्याक्कै कति छ भन्ने चाँहि सबै जना नेपाल प्रवेश गरेपछि मात्रै एकिन हुनेछ। यसअघि यो संख्या ११ सय भएको भनिए पनि १८ सयसम्म हुनसक्ने अनुमान छ। 

'उनीहरू एक एक गरी आउँदैछन्। हामीले स्वास्थ्यकर्मीहरू नाकामै राखेका छौं। चालिस जना नेपाल आइसक्नुभयो,'बैतडीका सहायक सिडिओ लोकेन्द्रसिंह नेगीले भने,'हामीले अब सिधै क्वारेन्टिनमा पठाउछौं।' 

कोरोनाभाइरसको संक्रमण देखिएमा भने उनीहरूलाई आइसोलेसनमा पठाउने जानकारी उनले दिएका छन्। 

'र्‍यापिड अथवा स्वाब परीक्षण गराउछौं,'उनले भने,'पालिकाले सय-डेढ सयको क्वारेन्टिन तयार गरेका छन्। केहीमा कोरोना देखियो भने आइसोलेसन नत्र क्वारेन्टिनमा पठाउने हो'', उनले भने। 

भारतको क्वारेन्टिनमा नेपालका १० जिल्लाबाट भारतमा मजदुरी गर्न पुगेका नेपाली छन्। लकडाउन भएपछि नेपाल प्रवेश गर्न खोजेका थिए। तर प्रवेश नपाएपछि भारत सरकारले उनीहरूलाई विभिन्न स्थानमा राखेको थियो। 

उनीहरूलाई सुरुमा चौध दिन क्वारेन्टाइनमा राखेर नेपाल फर्काइने बताइएको भएपनि तर महिना दिन बित्दा पनि फर्काउने कुनै पहल नभएपछि उनीहरूले सिधै आफ्ना जनप्रतिनिधिलाई सम्पर्क गरी नेपाल आउन दिन दबाब दिएका थिए। 

धार्चुलाबाट दैनिक फोन आउन थालेपछि जनप्रतिनिधिहरू दार्चुलाको सिडिओ कार्यालयमा पुगेका थिए। त्यसपछि उनीहरूलाई नेपाल प्रवेश गर्ने प्रक्रिया सुरू गरिएको थियो। 

'ढिला नै भएपनि फर्काउने कुरा गरेछन् ठिकै छ,'क्वारेन्टिनमा बसेका मंगलेश तिवारीले भने,'धेरै खुसी चाँहि छैनौं किनकी अब कमाएको पैसा थोरै मात्र बाँकी छ।' 

उनि बझाङ बुङ्गल नगरपालिकाका स्थानीय हुन्।

Published on: 30 April 2020 | Setopati

Link

Back to list

;