s

नेपाल श्रमिक आपूर्तिकर्ता संघ गठन

राष्ट्रिय आवश्यकता एवं बदलिँदो परिस्थिति अनुरूप निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्ति क्षेत्रलाई अझ बढी व्यवस्थित एवं सुदृढ पार्दै वैधानिक किसिमले यस क्षेत्रको विकास गरी राष्ट्रिय अर्थतन्त्रलाई दरिलो पार्न ठोस योगदान पुर्‍याउने तथा यस व्यवसायमा समर्पित व्यवसायीहरूको हकहित संरक्षण गर्ने मूल उद्देश्यलाई आत्मसात् गरी ‘नेपाल श्रमिक आपूर्तिकर्ता संघ’ विधिवत् अस्तित्वमा आएको छ ।
 
‘व्यवस्थित श्रम बजार–समृद्धिको आधार’ भन्ने संकल्पका साथ संघको गठन भएको हो । श्रम कानुनकै अभिन्न अंगका रूपमा रहने श्रम नियमावलीको पहिलो खाकाका रूपमा प्राप्त प्रस्तावित मस्यौदामा राखिएका कतिपय प्रावधानहरूबारेमा भने यस क्षेत्रमा क्रियाशील संघको ध्यानाकर्षण भएको जनाएको छ । ‘हामी हाम्रा श्रमिकहरूको हकअधिकारको सम्मान गर्छौं र उहाँहरूले पाउने सेवा सुविधाहरूप्रति सदा सकारात्मक रहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रियस्तरका ट्रेड युनियनहरूप्रति हाम्रो उच्च सम्मान रहनुको साथै रचनात्मक सहकार्य सम्बन्धको विस्तार गर्न चाहन्छौं ।’
 
संघले मुख्य रोजगारदातालाई श्रम ऐन २०७४ ले श्रमिक आपूर्तिकर्ताको अभिभावकका रूपमा स्थापित गरेको विषयलाई स्वागत गर्दै यस संघसँग आबद्ध संस्थाहरूको अझ बढी विकासका लागि प्रेरक एवं सेतुका रूपमा रही सहयोग पाउने विश्वाससमेत विज्ञप्तिमार्फत व्यक्त गरेको छ ।
 
Published on: 5 January 2018 | Kantipur

Back to list

;