s

नेपाल रेमिटेन्समा विश्वमै तेस्रो स्थानमा

नवराज ढकाल
 
काठमाडौं: नेपाल बढी रेमिटेन्स आम्दानी गर्नेमा विश्वकै तेस्रो नम्बरमा परेको छ । मुलुकको अर्थतन्त्रको आकारसँग रेमिटेन्स आय हिसाब गर्दा नेपाल तेस्रो नम्बरमा दर्ज भएको हो । यो तथ्यांकले नेपालको अर्थतन्त्रमा रेमिटेन्सले मेरुदण्डको काम गरेको पुष्टि भएको छ ।
 
नेपाल राष्ट्र बैंकले विश्व बैंकलाई उद्ध्रृत गरेको एक अध्ययनअनुसार मुलुकको अर्थतन्त्रको आकारसँग हिसाब गर्दा विश्वमा नेपालभन्दा अगाडि दुईवटा मुलुकको मात्र जीडीपी अनुपातमा रेमिटेन्सको योगदान धरै छ । सबैभन्दा बढी ताजिकिस्तानको जीडीपीमा रेमिटेन्सको योगदान बढी छ ।
 
 
 ताजिकिस्तानको अर्थतन्त्रमा रेमिटेन्सको हिस्सा ४१.७ प्रतिशत छ । यसपछि दोस्रो धेरै रेमिटेन्स योगदान हुनेमा क्रिज रिपब्लिक परेको छ । यो मुलुकको जीडीपीमा रेमिटान्स आयको हिस्सा ३०.३ प्रतिशत छ । यो नेपालको भन्दा थोरैले मात्र बढी हो । विश्वमै तेस्रो स्थानमा रहेको नेपालको जीडीपीमा रेमिटेन्सको योगदान २९.२ प्रतिशत पुगेको छ ।
 
अर्थविद्, नीतिनिर्माता र रोजगार क्षेत्रका विज्ञले नेपालको अर्थतन्त्रमा रेमिटेन्सलाई ‘लाइफलाइन' को संख्या दिँदै आएका छन् । मुलुकमा वार्षिक करिब ६ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिने गरेको छ । हाम्रो अर्थतन्त्रको आकार २१ खर्बजति छ । नेपालपछि चौथो स्थानमा तोङगा परेको छ । यो देशको जीडीपीमा रेमिटेन्सको योगदान २७.९ प्रतिशत छ । यस्तै, पाँचौं स्थानमा मोल्दोभा छ । यो मुलुकको जीडीपी अनुपातमा २६.२ प्रतिशत योगदान छ ।
 
विश्व बैंकले सन् २०१५ मा रेमिटेन्स भित्रिने मुलुक र अर्थतन्त्रको आकारलाई अध्ययन गरी यो तथ्यांक तयार पारेको हो । राष्ट्र बैंकले विश्व बैंकको यही तथ्यांकलाई उद्ध्रृत गरी गरेको पछिल्लो अध्ययनमा यो वर्ष भने नेपालमा रेमिटेन्स वृद्धिदर खस्किएको देखाइएको छ ।
 
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं रेमिटेन्स ज्ञाता डा.गणेश गुरुङ अहिलेसम्म अर्थतन्त्रको प्रमुख आधार नै रेमिटेन्स रहेको बताउँछन् । ‘तर सरकारले तत्काल नयाँ गन्तव्य खोजी नगर्ने हो र विदेशमा तालिमप्राप्त युवा पठाउन नसके भविष्यमा रेमिटेन्स आय भने घट्न सक्छ' , उनले भने ।
 
अर्थतन्त्रको आकारमा मात्र होइन, देशगत भित्रिने रकमको आकारलाई आधार मान्दा बढी रेमिटेन्स भित्रिने मुलुकमध्ये नेपाल विश्वमै २३ औं स्थानमा पर्छ । सन् २०१५ मा नेपालमा ६ खर्ब ६० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । यो रकमका आधारमा नेपाल २३ नम्बरमा परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले तयार पारेको अध्ययनमा देखाइएको छ ।
 
रकमको आधारमा धरै रेमिटेन्स भित्र्याउनेमा भारत विश्वमै पहिलो नम्बरमा परेको छ । भारतले गत वर्ष ७२ खर्ब २० अर्ब रुपैयाँ रेमिटेन्सबातप आफ्नो मुलुकमा भित्र्याएको थियो । भारतपछि विश्वमै धेरै रेमिटेन्स आम्दानी गर्नेमा अर्को छिमेकी चीन परेको छ । चीनले गत वर्ष ६३ खर्ब ९० अर्ब रुपैयाँ रेमिटेन्स आम्दानी गरेको थियो । संसारमै धेरै जनसंख्या हुने मुलुकमा पर्ने भारत र चीनका नागरिक युरोप, अमेरिकालगायत विश्वका अधिकांश मुलुकमा पुगेका छन् ।
 
कामदारमात्र नभई धेरै चिनियाँ र भारतीय नागरिकले अमेरिका, क्यानडा तथा युरोपेली मुलुकमा व्यापारव्यवसायमा समेत राम्रो प्रगति गरिसकेका छन् । पछिल्ला वर्ष भारत र चीन दुवैले आफ्ना मुलुकका गैरआवासीय नागरिकलाई स्वदेशमा लगानी बढाउन प्रोत्साहित गरेकाले पनि रेमिटेन्स भित्रिनेक्रम बढेको हो । 
 
नेपालमा भने अहिलेसम्म रेमिटेन्स आय उत्साहजनक भएपनि आगामी वर्षदेखि घट्न सक्ने प्रक्षेपण हुन थालेको छ । दक्षिण कोरियाले कामदारको कोटा घटाएको छ भने मलेसिया र खाडी मुलुक जाने कामदार पनि ह्वात्तै घटेका छन् । सरकारले निःशुल्क टिकट र भिसाको प्रावधान ल्याएपछि चालु आर्थिक वर्षको सबै महिना विदेसिने कामदार घटेका छन् । सरकारले नयाँ गन्तव्य खोजी गरेको छैन ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारले तत्काल यस क्षेत्रका समस्या समाधान नगरे अर्को वर्षदेखि रेमिटेन्स आयमा भारी गिरावट आउने स्पष्ट संकेत देखिएको बताए । उनले भने, ‘सरकारले तत्काल नयाँ कदम नचाले भविष्यमा रेमिटेन्समा निकै धक्का लाग्ने निश्चित छ ।'
 
हाल सरकारी अनुमति लिएर करिब ४० लाख युवा काम गर्न विदेशमा गएका छन् । अवैध हिसाबले जानेको संख्या पनि ठूलो छ । बैंकिङ च्यानलबाहके हुन्डीबाट आउने पैसाको आकार पनि निकै ठूलो रहेको अनुमान छ ।
 
Published on: 15 May 2016 | Annapurna Post

Back to list

;