s

नेपाल र मलेसिया श्रम सम्झौता आज

नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा (एमओयु) मा सोमबार काठमाडौँमा हस्ताक्षर हुनेभएको छ । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले तयार गरेको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम् कुलासेगरान आइतबार राति नेपाल आइपुग्दै हुनुहुन्छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार अन्तिम मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा संयुक्त रूपमा हस्ताक्षर गर्नुहुनेछ ।

उहाँले नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म श्रम सम्झौता हुन नसकेकाले यसलाई सरकारले ठूलो उपलब्धिका रूपमा लिइएको बताउनुभयो । यसअघिका श्रममन्त्रीले यस प्रकारको एमओयुका लागि प्रयास गर्दै आएका भए त्यसले मूर्त रूप लिन सकेको थिएन । nepal malesiya

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन गएको महिना श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गएको असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली र मलेसियाका अधिकारीका बीच सम्झौताको एमओयुमा सहमति जुटेसँगै यस खालको वातावरण बनेको हो ।

प्रवक्ता रेग्मीले रोजगारदाता मुलुकलाई श्रमिकप्रति जवाफदेही बनाउँदै नेपाली श्रमिकले अधिकतम लाभ प्राप्त गर्नेगरी सम्झौतामा हस्ताक्षर हुन लागेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने गरी सम्झौता तयारी भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार यससँगै मलेसिया जाने नेपाली श्रमिकले छनोट प्रक्रियामा लाग्ने शुल्कसमेत तिर्नु नपर्ने गरी सम्झौताको तयारी भएको छ । यसबीचमा नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयु) को खाकाका रूपमा तीन पटकसम्म आदानप्रदान भएको थियो ।

मलेसियाको रोजगारीमा समय लाग्ने

श्रम सम्झौतामा भए पनि नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी खुल्न केही समय लाग्ने भएको छ । प्रवक्ता रेग्मीले नेपाल र मलेसियाबीच सम्झौता भए पनि प्राविधिक तयारी गर्नुपर्ने भएकाले मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न केही समय लाग्न सक्ने बताउनुभयो । उहाँका अनुसार सम्झौतापश्चात श्रमिक आपूर्तिका आधार ‘मोडालिटी’ तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुनेछ र सोही टोलीले श्रमिक छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरणको भूमिका खेल्नेछ ।

शून्य लागतमा मलेसियाको रोजगारी

नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा श्रमिकसँग अवैध शुल्क लिँदै आएको एजेन्सी खारेज गरेसँगै गएको जेठदेखि मलेसियाका लागि नेपाली श्रमिक निर्यात ठप्प भएको छ । मलेसिया स्वास्थ्य परीक्षण, प्रवेशाज्ञालगायतका नाममा अवैध रूपमा नेपाली श्रमिकमाथि प्रतिव्यक्ति झण्डै साढे १९ हजार रुपियाँ आर्थिक भार थोेपरेको थियो । यो सम्झौतासँगै यी सबै खारेज हुनेछन् र नेपाली श्रमिक शुल्क लागतमा मलेसियामा रोजगारीका लागि जान पाउनेछन् । गएको छ महिनादेखि रोकिएको मलेसियाका लागि श्रम स्वीकृति केही समयभित्रै खुल्नेछ ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो एक दशकमा विभागबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या झण्डै ४५ लाखको हाराहारीमा पुगेको छ । नेपालबाट ११० मुलुकमा श्रम स्वीकृति लिएर जाने गरेकोमा सबैभन्दा धेरै खाडी र मलेसिया छन् । नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करिब ३० प्रतिशत कार्यरत रहेको विभागले जनाएको छ । अझै पनि मलेसियामा छ लाख नेपाली कार्यरत रहेको जनाइएको छ ।

Published on: 29 October 2018 | Gorkhapatra

Back to list

;