s

नेपाल–कोरिया सम्बन्ध ५० वर्षमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपालीहरूको अनुभवमा आधारित पुस्तक मंगलबार सार्वजनिक भएको छ।

कोरियामा काम गरेर फर्केपछि सीप, अनुभव र अनुशासनलाई नेपालमा प्रयोग गरेर आफैं उद्यमशील बनेको अनुभव पुस्तकमा समेटिएको छ । पुस्तक ‘तपाईं पनि मालिक बन्न सुक्नुहुन्छ’ लाई नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र कोरियाली राजदूत पार्क थेयङ्ले संयुक्तरूपमा सार्वजनिक गरेको सफलताको कथा समेटिएको पुस्तक सार्वजनिक गरेका थिए। दूतावासले प्रकाशन गरेको उक्त पुस्तकमार्फत इपिएसलगायत कोरियाको अनुभवमा आधारित सफलताका कथाहरूले नेपालमा आफ्नो व्यवसायसम्बन्धी विस्तृत जानकारी मिल्नेछ। पुस्तकमा कोरियाको अनुभवमा आधारित सफल व्यावसायिक कथा समावेश गरिएको छ। यसमा उत्पादन क्षेत्रका सात, कृषिक्षेत्रका ६, सेवाक्षेत्रका आठ र शिक्षा क्षेत्रका पाँच जना नेपाली व्यवसायी समेटिएका छन्।

पुस्तकले कोरियाको अनुभव लिएर फर्किएका धेरै नेपालीलाई प्रेरणा र प्रोत्साहन मिल्ने दूतावासको विश्वास रहेको छ। सम्बन्धको ५० वर्षलाई झल्काउने लोगोसमेत सार्वजनिक भएको छ। लोगोलाई नेपालस्थिति कोरियाली दूतावास र नेपाल सरकार दुबैले प्रयोग गर्ने भएका छन्। लोगोमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र विशेषता समावेश गरिएको छ। ‘एभरेस्टि फ्रेन्डसिप कोरिया–नेपाल ५०औँ वार्षिकोत्सव’ भन्ने नारा ‘माउन्ट एभरेष्ट’ (सगरमाथा) नेपालको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र साझेदारीलाई ‘अनन्त’ प्रवद्र्धन गर्ने शव्द चयन गरिएको छ।

नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको प्रारम्भदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायत विभिन्न क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान निरन्तर वृद्धि हुँदै आएको छ। दूतावासले यस वर्ष सन् २०२४ मा कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्ष्यमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। आगामी दिनमा पनि आपसी साझेदारीमा आधारित कार्यक्रममार्फत घनिष्ठ सम्बन्ध थप प्रगाढ हुने र द्विपक्षीय सम्बन्धले नयाँ उचाइ चुम्ने दूतावासको विश्वास रहेको छ।

Published on: 31 January 2024 | Nagarik

Link

Back to list

;