s

नेपाल जाने जहाजको बोर्डिङ पास लिएपछि लेवर क्याम्प छिरेर आत्महत्या

उमाकान्त पाण्डे

युएई नफर्कने गरी अथवा ‘क्यान्सिल भिसा’मा नेपाल हिँडेका पाल्पाको बगनासकाली ३ का भिमसेन दमाई नेपाल पुग्नु भएन । नेपाल फर्कन गएको शनिबार उहाँ कम्पनीबाट भिसा रद्द गरेर युएईको सारजाह विमानस्थल पुग्नुभएको थियो । 

उता नेपालमा भिमसेनलाई कुरेर बसेका परिवारले भेट्न पाएनन् । ‘फोन पनि लागेन, कुरा पनि हुन पाएन; त्रिभुवन विमानस्थलमा कुरेर बसेका भिमसेनका जेठान रमेश आरजु परियारले भन्नुभयो ।  
 
१३ वर्ष देखि सारजाहको प्लाटिनम ३ एलटिडी साफ जोन कम्पनीमा सुपरभाइजरको रुपमा कार्यरत भिमसेन दिउँसो सवा चार बजे एयर अरबियाबाट नेपाल फर्कंदै हुनुहुन्थ्यो । उहाँलाई विमानस्थल पुर्याउन सहकर्मीहरु एयरपोर्ट पुगेका थिए । 
 
उहाँले बोर्डिङ पास समेत लिनुभएको थियो । भिमसेनले बोर्डिङ पास लिइसकेपछि पुर्‍याउन गएका साथीहरु फर्किएका थिए । विमानस्थलबाट उनीहरु बस्ने कोठा पुग्न हिँडेर १० मिनेट जति लाग्छ । 
 
नेपाल पुगेर खबर नगरेकोमा कम्पनीका सहकर्मी चिन्तित थिए । तर मध्यरातमा लेवर क्याम्पको शौचालयमा भिमसेन मृत अवस्थामा भेटिनुभयो । शौचालयको सिलिङमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भिमसेनलाई साथीहरुले भेटेका थिए । 
 
नेपाल जानुपर्ने तर कोठामा फर्किएको कसैलाई पत्तो भएन । शनिबारको टिकट भएको जहाजमा उहाँ फर्कनु भएन । राती पौने १२ बजेसम्म भिमसेन एयरपोर्ट बाहिर पार्कमा बसेको हुनसक्ने सहकर्मीहरुले अनुमान गरेका छन् । 
 
मध्यरातको १२ बज्न ५ मिनेट बाँकी हुँदा भिमसेनले लेवर क्याम्पको गेटमा आएर प्रवेश मागेको देखिएको छ । चौकिदारले किन फर्किएको भनेर सोधेका थिए । आजको उडान रद्द भयो, भोली जाने भनेपछि गार्डले भिमसेनलाई प्रवेश दिएका थिए । 
 
गेटबाट छिरेर उहाँ कोठामा जानुभएन । १२ बजेर १० मिनेटमा कोठाका साथी शौचालय जाँदा बाहिर हाते ब्याग देखेपछि झस्किएका थिए । धेरैबेरसम्म शौचालयबाट मान्छे बाहिर ननिस्केपछि उनीहरुले सेक्युरिटीलाई खबर गरेका थिए । ढोका फोरेर हेर्दा भिमसेन झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । 
 
भिमसेनले आफू नेपाल आउन लागेको परिवारलाई बताउनु भएको थिएन । तर उहाँसँगै काम गर्ने साथीभाइले घरमा खबर गरेका थिए । त्यसैका आधारमा उहाँलाई  एयरपोर्टमा लिन उहाँकी श्रीमती, १४ वर्षीय छोरो र जेठान पुगेका थिए । 
 
जहाज आएर सबै जना मान्छे बाहिर आउँदा पनि उहाँ निस्किनु भएन । त्यही बेला युएईबाट भिमसेनले छोरालाई फोन गरेर भन्नुभयो, मेरो केही कागज नमिलेर घर आउन पाइन केही दिनपछि आउँछु । ४ वर्ष अघि पनि नेपाल जाँदा उहाँ परिवारसित बस्नुभएको थिएन । त्यसैले साथीभाइले यसपटक उहाँ नेपाल आउने खबर गरेका थिए । 
 
दुवईबाट क्यानडा जाने भनेर भिमसेनले एजेन्टलाई पैसा बुझाएको आफन्तको भनाइ छ । क्यानडा जाने भनेर ऋण काढेको पैसा तिर्न बाँकी छ । आफन्तका अनुसार त्यसबाहेक भिमसेनको परिवारलाई अरु पनि ऋण छ । 
 
श्रीमानले आत्महत्या गरेको श्रीमती शिला दमाईलाई थाहा छैन । आमा र छोराछोरीले पनि थाहा पाएका छैनन् । ‘ऋणकै कारण श्रीमानले आत्महत्या गरेको बारे परिवारले थाहा पाए उनीहरुले पनि आत्महत्या गर्ने हुन कि भन्ने डर छ, त्यसैले परिवारलाई भनेका छैनौ’ रमेशले भन्नुभयो ।     
 
ऋणले भिमसेनको परिवार समस्यामा थियो । अब कमाउने मान्छे नै नरहेपछि परिवारलाई गर्जो टार्न समस्या परेको छ । युएईबाट शव कसरी नेपाल लैजाने भन्ने परिवारलाई थाहा छैन । कम्पनीमा काम गर्ने सहकर्मी र पाल्पाली समाज युएईले चासो देखाएर परिवारसँग सम्पर्क गरिरहेको समाजका अध्यक्ष बेदप्रसाद अर्यालले बताउनुभयो ।
 
भिमसेनको शव कुवेती अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा भिमसेनले आत्महत्या गरेको देखिएको कम्पनीले जनाएको छ ।
 
Published on: 1 February 2018 | Ujyaaloonline

Back to list

;