s

नयाँ पत्रिका समाचार प्रभाव : नेपाली कामदार ठगी गर्ने चारविरुद्ध मुद्दा

तेजराज भट्ट

 

कामको खोजीमा भारत गएका नेपालीलाई बसको टिकटमा ठगी गरेको बर्दादेवी टुर एन्ड ट्राभल्स प्रालिका अध्यक्षसहित चारजनामाथि प्रहरीले सार्वजनिक हितविरुद्धको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले पक्राउ परेका चारैजनालाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइएको जानकारी दिए ।

सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाएर बर्दादेवी ट्राभल्सले भारत जान लागेका नेपाली कामदार ठग्दै आएकोबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । ठगिएको सम्बन्धमा नयाँ पत्रिकाको अनलाइन संस्करणमा समाचार आएपछि गुनासो गरेपछि उक्त प्रालिका अध्यक्ष रमेश विश्वकर्मा, रुद्र आग्री, खेम जोगी र अर्जुन जैगडीलाई प्रहरीले मंगलबार नै नियन्त्रणमा लिएको थियो ।

ठगिएकामध्ये एक सय २६ जनाको टिकटको पैसा फिर्ता गराइएको प्रहरीले जनाएको छ । ‘एक सय ३० जना ठगिएका भन्ने आएको थियो । एक सय २६ जनाको पैसा हाम्रै रोहबरमा फिर्ता गराएका छौँ,’ डिएसपी विष्टले भने, ‘अन्य व्यक्ति सम्पर्कमा आउनुभएन ।’ 

धनगढी बसपार्कमा कार्यालय रहेको बर्दादेवी टुर एन्ड ट्राभल्स प्रालिबाट भारतीय बसको टिकट काटेर भारतका विभिन्न सहरमा रोजगारीका लागि जान लागेका एक सय ३० जना नेपाली अलपत्र परेका थिए ।

उक्त ट्राभल एजेन्सीबाट टिकट काटेकालाई भारतीय बस व्यवसायीले लग्न नमानेपछि सोमबार राति भारतको पलियामा नेपालीहरू अलपत्र परेका थिए । धनगढीमा टिकट काटेर उनीहरू सोमबार बेलुकी पलिया पुगेका थिए ।

ट्राभल एजेन्सीका एजेन्टले पलियाबाट गन्तव्यमा जानका लागि बस चढाउने भन्दै भारतीय गाडीको टिकट यहीँ काटेका थिए । तर, उक्त ट्राभल एजेन्सीले विगतमा यात्रु ओसारेको एक करोड रुपैयाँ नदिएको भन्दै भारतीय बस व्यवसायीले नेपाली यात्रुलाई लग्न मानेका थिएनन् ।

ट्राभल एजेन्सीको ठगीका कारण मध्यरातसम्म पलियामा अलपत्र परेका नेपालीहरू राति नै धनगढी फर्केका थिए । कामको खोजीमा भारत जाने नेपालीहरू टिकटमा ठगिँदै आएका छन् ।

भारतीय व्यवसायीसँग मिलेर यहाँका ट्राभल एजेन्सीहरूले भारतका विभिन्न सहरमा जानका लागि टिकट काट्दै आएका छन् । कोरोनाको कारण देखाएर उनीहरूले नेपालीबाट दोब्बरसम्म भाडा असुल्ने गरेका छन् ।

Published on: 3 December 2020 | Nayapatrika

Link

Back to list

;