s

नयाँ र पुरानालाई विभेद नगर्न कोरिया रिटर्न श्रमिकको माग

कोरिया जान चाहने नयाँ तथा पुराना श्रमिकलाई समान अवसर प्रदान गर्न कोरियाबाट फर्केका कामदारले माग गरेका छन् । कोरियाले भाषा परीक्षा पास गरी रोस्टरमा रहेका नयाँ श्रमिकलाई मात्रै छनोट गरी पुरानालाई विभेद गरेको भन्दै कोरियाबाट फर्केका कामदारले आइतबार इपिएस कार्यलय घेराउ गरेका छन् ।

कोरियाको व्यवस्थाअनुसार एकपटक कोरिया पुगेर फर्केको नेपाली श्रमिक रोजगारीका लागि पुनः कोरिया जान सक्छन् । तर, पहिला काम गरेको कम्पनीमा नगई नयाँ कम्पनीमा जान चाहने श्रमिकले पुनः भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । यसरी भाषा उत्तीर्ण गरेका श्रमिकलाई नयाँ श्रमिकसरह रोस्टरमा राखिन्छ । रोस्टरबाट नै कोरियन रोजगारदाताले श्रमिकको छनोट गर्छन् ।

तर, यसपटक नयाँ श्रमिकको तुलनामा पुराना श्रमिक थोरै छनोट भएको इपिएस कार्यालय प्रमुख पुष्पराज कटुवालले बताए । उनका अनुसार यसअघि नयाँ र पुरानामा खासै भिन्नता थिएन । कामदार छनोट गर्ने विषयमा नेपालको कुनै भूमिका नहुने उनले बताए । मन्त्रालयलाई यस विषयमा जानकारी गराई पहलका लागि आग्रह गरिने उनले बताए ।

पुरानालाई प्राथमिकता दिन माग

एकपटक कोरियामा रोजगारी गरी फर्केका श्रमिकले ७० प्रतिशतभन्दा बढी कोटाको माग गरेका छन् । श्रमिकले भाषा परीक्षा पास गरेको मितिअनुसार नै कोरिया जान पाउने व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै, रोस्टरमा सूचीकृत श्रमिकमध्ये कम्तीमा २५ प्रतिशतको रोजगारदातासँग सम्झौता भएपछि मात्रै रोस्टरमा श्रमिकको थप गर्न माग गरेका छन् ।

पुराना श्रमिकहरूको समस्या समाधान नभईकन इपिएस नेपाल तथा एचआरडी कोरिया नेपालमा कुनै पनि किसिमको भाषा परीक्षा नगराउन आग्रह गरेका छन् । व्यावहारिक रूपमा पुराना श्रमिकको माग जायज भएको इपिएस शाखा प्रमुख कटुवालको भनाइ छ । पुरानाले पनि नयाँजस्तै गरी भाषा परीक्षा गरेर रोस्टरमा पुगेपछि उनीहरूलाई पनि समान व्यवहार हुनुपर्नेमा उनी सहमत छन् । तर, श्रमिक छनोटको पूरै अधिकार रोजगारदातामा निहित भएको उनले बताए ।

कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकाल बस्न पाउँछ । अर्थात् नौ वर्ष ६ महिना कोरियामा काम गर्न पाउँछ । सो व्यवस्थाअनुसार नयाँ श्रमिकलाई लैजाँदा दुई कार्यकाल काममा लगाउने पाइने, तर पुरानो श्रमिक लैजाँदा एक कार्यकाल मात्रै राख्न पाउने भएकाले पनि कोरियन रोजगारदाताले नयाँ छानेको हुन सक्ने उनको अनुमान छ । ‘पुराना श्रमिक स्वाभाविक रूपमै बढी उमेरका हुन्छन्, नयाँ कामदार अलि कम उमेरका हुने भएकाले पनि रोजगारदाताको रोजाइमा नयाँ परेको हुन सक्छ,’ उनले भने ।

तीन हजार पुराना रोस्टरमा

इपिएस प्रणालीमार्फत कोरिया जान चाहने नेपाली श्रमिकका लागि भाषा परीक्षा अनिवार्य सर्त हो । भाषा परीक्षा उत्तीर्ण गरेको नेपाली युवाको नाम रोस्टरमा राखिन्छ । कोरियन रोजगारदाताले रोस्टरमा राखेको नामबाट आफूलाई मन पर्ने श्रमिक छनोट गर्छ । छनोट गरेको श्रमिकसँग उसले श्रम सम्झौता गर्छ । सम्झौतापछि भिसा पठाउँछ । श्रमिकले पनि श्रम स्वीकृति लिएर कोरिया जान सक्छन् । कोरिया जाने श्रमिकको एक कार्यकालको अवधिमा चार वर्ष १० महिना हुन्छ ।

कोरिया जाने श्रमिकको रोस्टरमा नौ हजार नेपाली युवा सूचीकृत छन् । जसमध्ये ६ हजार उत्पादन क्षेत्रका छन् भने तीन हजार कृषि क्षेत्रका छन् । सूचीकृतमध्ये ती हजार पुराना श्रमिक छन् ।

Published on: 27 June 2023 | Naya Patrika

Link

Back to list

;