s

नयाँ म्यान पावर कम्पनी नखोलिने

सीता शर्मा

सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोकेको गरेको छ । सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, म्यान पावर नभएको कोही विदेश जान नपाएको भए त रोकियो भन्ने हुन्थ्यो, म्यान पावर संस्थाको कमी छैन, त्यसैले अहिले वैदेशिक रोजगार क्षेत्रको पनि अन्य कुराको सुधार गर्ने कामलाई प्राथमिकतामा राखेका छौँ । 
 
उहाँले वैदेशिक रोजगारीका सिलसिलामा समस्यामा परेका कामदारको राहत, उद्धारलगायत विभिन्न विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पहिले नै प्रक्रिया पूरा गरेको केही नयाँ वैदेशिक रोजगार कम्पनी दर्ता भए पनि अहिले प्रक्रिया सुरु गर्न चाहने म्यान पावर व्यवसायीलाई व्यवसाय दर्ताको प्रक्रियामा नजान आग्रह गरिएको उहाँको भनाइ छ । विभागमा अनुसार झण्डै एक हजार वैदेशिक रोजगार कम्पनी अनुमति दर्ता भएर सञ्चालमा रहेका छन् । 
 
यो वर्ष मात्रै अदालत, प्रधानमन्त्री कार्यालय र मन्त्रीको आदेश तथा निर्देशनमा २०० भन्दा बढी वैदेशिक रोजगार कम्पनी दर्ता भएका छन् । नयाँ वैदेशिक रोजगार कम्पनी दर्ताका लागि सात लाख रुपियाँ नगद र २३ लाख रुपियाँ बैङ्क व्यालेन्ससहित गरी ३० लाख रुपियाँ धरौटी राख्नु पर्छ ।
 
Published on: 25 April 2018 | Gorkhapatra

Back to list

;