s

नवलपरासीमा ६ महिनामा १३ सय महिलाले बनाए राहदानी

ज्ञानु पंगेनी

नवलपरासीको नवलपुरमा चालू आर्थिक वर्षको ६ महिनामा १ हजार २ सय ८४ महिलाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामजी सुवेदी जिल्लामा राहदानी बनाउने महिलाको संख्या बढ्दै गएको बताए ।

जिल्लामा गत वर्ष २ हजार ८ सय ९३ महिलाले राहदानी बनाएका थिए । अधिकांश महिलाले वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने गरेका छन् । चालू आर्थिक वर्षमा राहदानी बनाउने ज्येष्ठ नागरिकको संख्यासमेत बढेको छ । विदेशमा बस्ने छोराछोरीले बाबुआमालाई घुम्न बोलाउने गरेकाले राहदानी बनाउने ज्येष्ठ नागरिकको संख्या बढेको सुवेदीले बताए ।

चालू आर्थिक वर्षको ६ महिनामा जिल्लामा कुल ४ हजार ५ सय ५२ जनाले राहदानी बनाएका छन् । साधारण सेवामार्फत ३ हजार ४ सय ३५ र द्रुत सेवामार्फत १ हजार १ सय १७ जनाले राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले चालू आवमा राहदानी वितरणबाट १ करोड ६६ लाख ७७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा कार्यालयले राहदानीबाट ३ करोड २४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Published On: 24 January 2019 | Naya patrika

Back to list

;