s

नवलपरासीबाट खाडी जाने सयौं युवा समस्यामा

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् ।
 
विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ ।
 
सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना नवलपरासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिए ।
 
खासगरी पैसा लिने तर विदेश नपठाउने, समयमा तोकेबमोजिम तलब नपाइने, भनेको कामभन्दा कडा र जोखिम काममा लगाउनेलगायतका समस्या वैदेशिक रोजगारका क्रममा देखिएको भण्डारीको भनाइ छ ।
 
चार वर्षको अवधिमा जिल्लाका एक हजार १०० विभिन्न प्रकारका उजुरीको समाधान भएको छ भने पीडित पक्षलाई रु १२ करोड क्षतिपूर्ति उपलब्ध गराउन विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ ।
 
वैदेशिक रोजगारको जोखिमको हिसाबले नवलपरासी पाँचाै‌ँ जिल्लामा पर्दछ भने रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुने जोखिमको हिसाबले तेस्रो जिल्लामा पर्दछ ।
 
नवलपरासीबाट मात्रै करीब ८० हजार वैदेशिक रोजगारमा गएको सुरक्षित आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । पश्चिम नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रका कतिपय नागरिक भारतीय उडानबाट समेत तेस्रो मुलुक जाने गरेका छन् ।
 
यसमध्ये करीब छ हजार महिला रहेको बताइएको छ । जिल्लामा करीब ६०० बढी विदेश पठाउने एजेण्ट (दलाल) रहेका छन् । गाउँपिच्छे नै दलाल रहे पनि त्यसमध्ये जम्मा १२ जनाले लाइसेन्स लिएको तथ्यांक छ । अन्यले भने कमिसनमा विदेश जाने युवायुवती खोजेर विभिन्न म्यानपावरलाई दिने गरेका छन् ।
 
म्यानपावरको लाइसेन्स लिन वैदेशिक रोजगार विभागबाट स्वीकृति लिई रु दुई लाख धरौटी राख्नुपर्ने प्रावधान छ ।
 
लाइसेन्स नलिई वैदेशिक रोजगारसम्बन्धी उद्योग गर्ने वा ठगी गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद र रु तीनदेखि पाँच लाख जरिवाना गर्ने प्रावधान रहे पनि दलालले राजनीतिकसहित विभिन्न माध्यमबाट संरक्षण पाएका छन् ।
 
कानूनको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा ठगी गर्न सहयोग पुर्याउने एजेण्ट वा दलाललाई कारबाही नभएको बताइएको छ । वैदेशिक रोजगारमा देखिएको समस्या न्यूनीकरण गर्न वैदेशिक रोजगारबारे परामर्श, निःशुल्क सीपमूलक तालीमलगायतका काम आप्रवासन परियोजनाले गर्दै आएको दाबी गरेको छ ।
 
Published on: 23 April 2018 | Onlinekhabar

Back to list

;