s

नाै इरिट्रियालीलाई बोस्निया हर्जगोभिनाले नेपाल फिर्ता पठायो

शम्भु कट्टेल

सबैसँग पूर्वी टिमोरको नक्कली राहदानी
 
नेपाललाई ट्रान्जिट बनाएर पूर्वी टिमोरको नक्कली राहदानीमा युरोप प्रवेश गर्न खोज्ने ९ जना इरिट्रियाली पक्राउ गरी बोस्निया हर्जगोभिनाले काठमाडौं फर्काइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले असार ६ गते इरिट्रियालीको नक्कली राहदानीमा आगमन (अराइभल) अनुमति दिएका थिए । केही दिन काठमाडौं बसेपछि असार १८ गते त्यही नक्कली राहदानीमा उनीहरूले त्रिवि अध्यागमनबाट प्रस्थान अनुमति लिएका थिए । काठमाडौंबाट उडेका उनीहरूलाई बोस्निया हर्जगोभिनाले असार २१ मा फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो ।
 
काठमाडौं बसाइमा ती इरिट्रियालीहरू कहाँ गए र के के गरे त्यसको कुनै सूचना तथा जानकारी कुनै पनि सरकारी निकायसँग छैन । अध्यागमनको हिरासतमा रहेका उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ । नेपाल आएका १० जनामध्ये जोन हेवेटाबाहेक अरु सबै बोस्निया हर्जगोभिना छिर्ने प्रयासमा थिए । हेवेटा मानवतस्करसँग सेटिङ गर्ने व्यक्ति हुन् । हेवेटाको सेटिङमा नेपाल हुँदै बोस्निया हर्जगोभिना छिर्ने र त्यहाँबाट अनुकूलता अनुसार युरोपेली देश जाने उनीहरूको तयारी थियो । हेवेटा र अध्यागमन कर्मचारीबीच कनेक्सन भए/नभएको पनि अनुसन्धान हुने स्रोतले बताएको छ ।
 
इरिट्रियालीहरूसँगै नेपाल आएका हेवेटा बोस्निया हर्जगोभिना गएनन् । हेवेटाले इरिट्रियालीहरूलाई कतारबाटै बोस्निया हर्जगोभिनाको अध्यागमन पार गराउने सेटिङ मिलाएका थिए । नक्कली राहदानीवाहक सबै इरिट्रियालीलाई तत्काल पक्राउ गरी बोस्निया हर्जगोभिनाको अध्यागमनले इन्ट्री रिफ्युज गर्‍यो । पूर्वी टिमोरका नागरिकले त्यहाँ अन अराइभल भिसा पाउँछन् ।
 
अध्यागमनका कर्मचारीले नक्कली राहदानीवाहकहरूलाई आगमन र प्रस्थान अनुमति दिएकोबारे खोजीको विषय बनेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख कमलराज ढकालले अत्यावश्यक प्रविधिको कमीले नक्कली राहदानीवाहकहरू उम्कने गरेको दाबी गरे । ‘हामीसँग उपलब्ध प्रविधि र अनुभवका आधारमा राहदानी परीक्षण गर्दै आएका छौं’, उनले भने, ‘सकेसम्म गलत प्रवृत्तिका मानिस यहाँ प्रवेश नगरुन् भन्ने हाम्रो उद्देश्य हो ।’
 
त्रिवि अध्यागमनमा भएका पासपोर्ट रिडेबल मेसिन (पीआरएम) र यूभी लाइट प्रभावकारी छैनन् । यूभी लाइटबाट बायोपेजका सामान्य सेक्युरिटीसम्बन्धी फिचर हेर्न सकिने भए पनि सक्कली र नक्कली छुट्याउन सकिँदैन । अध्यागमन कर्मचारीले नक्कली राहदानी पत्ता लगाउन नसकेको हो वा सेटिङ गरेको हो अनुसन्धान भइरहेको स्रोतले बताएको छ । नक्कली राहदानीवाहकलाई प्रस्थान र आगमन अनुमति दिने कर्मचारीमाथि अनुसन्धान गर्नु पर्ने प्रश्न उठेपछि गृह मन्त्रालयले छानबिन गर्ने तयारी गरेको छ ।
 
Published on: 13 July 2018 | Annapurna Post

Back to list

;