s

नौ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि

बिहानदेखि बेलुकीसम्म गाई–भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोकका कुमार आचार्यको दैनिकी हो। बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उहाँ गाई–भैँसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त छन्। नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हण्डर र गोता खाएपछि उनी अहिले कृषि पशुपालनमा आकर्षित भएका हुन्। मिश्रित कृषि पशुपालन तथा एग्रिकल्चर फार्मबाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरेका आचार्यको गोठमा चारवटा भैँसी र सातवटा गाई छन्।

पशुपालन अलावा उनले झण्डै ४० रोपनी जग्गामा गोलभेँडा खेती गरिरहेका छन्। पाँचवटा टनेलमा गोलभेँडा खेती गरिरहेका आचार्यले १० रोपनी जग्गामा अदुवा र बेसार खेतीसमेत गरिरहेका छन्।

मलेसिया, कतार, साउदी, भारतको तातो घाममा आचार्यको पसिना बगे। मेहेनत र परिश्रम खेर गयो। दुःख बिते। समय बित्यो। तर, आस, हुटहुटी र हिम्मत भने जीवितै रह्यो। त्यहीँ हुटहुटी, हिम्मत र आसले उहाँको जीवनले नयाँ मोड लियो। त्यहीँ नयाँ जीवनको सारथि बनेर आचार्य अहिले स्वदेशमै पसिना बगाइरहेका छन्। विदेशमा कमाएको केही पैसाले कृषि क्रान्तिमा लाग्नेका आचार्यले झण्डै ३० रोपनी जग्गामा फूल, कागती, आँप, लिचीखेती गरिरहेका छन्।

कृषिका विभिन्न आयामहरूसँग जुधिरहेका आचार्य अब बाँकी जीवन सुखसाथ कृषि पेसामै बिताउने बताउँछन्। 'अब बाँकी जीवन स्वदेशमै बिताउँछु। आफ्नै गाउँको माटोमा पसिना बगाउँछु’,उनले भने। उनी कृषि सुकिलो मुकिलो नभए पनि आत्मनिर्भर पेसा रहेको बताउँछन्।

मान्छेले झट्ट कृषि पेसा नरोज्ने आचार्यको बुझाई छ। “मान्छेले झट्ट कृषि पेसा रोज्दैनन्। प्राय धेरै सुकिलो मुकिलो भएरै हिँड्न मन पराउँछन्। तर,कृषिमा सधैँभरि सुकिलो मुकिलो भएर हिँड्ने छुट छैन। कृषिमा त गोबर,भकारो,माटोसँग रमाउन सक्नुपर्छ’’,उनले भने। उनी आफ्नै गाउँको चिसो हावा र माटोसँग खेल्दा जति आनन्द विदेशमा काम गर्दा नआएको बताउँछन्।

सङ्घर्ष गर्ने उमेरको आधाआधी जीवन विदेशमा बिताउनुभएका आचार्य नेपाली युवालाई खाडी मुलुक नजान सुझाउछन्। ‘नेपालमै आयस्रोतका धेरै आयाम छन्। नेपाली युवा काम गर्ने वातावरण छैन भन्दै विदेश हाँकिन्छन्। त्यहाँ पनि कामै गर्ने हो, पसिनै बगाउने हो। त्यो पसिना नेपालमै बगाए राम्रो हुन्थ्यो', उनले भने।

आचार्य ११ वटा गाई र भैँसीको झण्डै सय लिटर दूध मोटरसाइकलमै हालेर बजारसम्म पु¥याउछन्। गाईवस्तुको खानपान र औषधिबाहेक पनि आचार्यको हातमा मासिक ९० हजार पर्छ। 'गरे जे पनि हुने रहेछ। विदेशमा ३० हजार कमाउन रात दिन नभनी काम गर्नुपथ्र्यो। तर म अहिले घरै बसी–बसी ९० हजार कमाउँछु', उनले भने। ३० हजार कमाउन खाडीमा १८ घण्टासमेत काम गरेको तितो अनुभव आचार्यसँग छ।

उनी भन्छन्, 'विदेशमा ३० हजार कमाउन अठार–अठार घण्टासमेत काम गरियो। आज ती दिन सम्झँदा आङै सिरिङ्ग सिरिङ्ग हुन्छ', उनी युवालाई कृषिमा प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्ने बताउँछन्। ‘नेपालबाट दैनिकरूपमा सयौँ नेपाली विदेश जान्छन्। त्यसलाई रोकेर कृषिमा युवालाई प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ', उनले भने।

आचार्यले नेपालमै नयाँ र नौला प्रयोगमा रहेको सिताके च्याउको समेत व्यावसायिक खेती गरिरहेका छन्। विसं २०७५ मा पाँच सय मुढाबाट व्यावसायिक च्याउखेतीको सुरुआत गरेका उनले अहिले १५ सय मुढामा च्याउखेती गरिरहेका छन्। उनी च्याउखेतीको बजार राम्रो रहेको तर उत्पादन ढिला भएको बताउँछन्। 'बजारमा सिताके च्याउको माग अत्यधिक छ। तर उत्पादन ढिला भइरहेको छ। यसले पनि हामीले बजार मागलाई सम्बोधन गर्न सकिरहेका छैनौँ', उनले भने। रासस

Published on: 4 November 2022 | Nagarik

Link

Back to list

;