s

नातेदारबाटै लुटिन्छन् नारी

सहोदर दिदीको छोरा। आफ्नै छोरासरह थियो। केही अप्ठ्यारो परोस् त समस्या उसैलाई सुनाउँथिन्। समस्या परेका बेला साथ पनि दिन्थ्यो। दुःखसुखमा साथ दिने 'छोरा' माथि गलत आशंका गर्ने कुरै भएन तर भयो त्यही। साता दिनअघि त्यही छोरो 'पिचास' बनेर बुढ्यौली जीवन लुट्न आइलाग्यो। उसले सानिआमा–छोराको पवित्र नातामात्रै सिध्याएन, सानिआमालाई अर्धमृत पारेर छाडिदियो।

चैत दोस्रो साता ४० वर्षीया उनी घरमा एक्लै थिइन्। एक्कासि घरको ढोका गर्ल्याम्म ढलेको आवाजले निद्रा ब्युँझियो। डरले सातो गयो। कोही पुरुष आफू सुतेकै ठाउँमा पुग्यो। नजिकै पुग्दा मात्रै ती पुरुष उही 'छोरो' हो भन्ने उनले ठम्याइन्। केही काम परेर आएको होला भन्ने उनलाई लाग्यो तर छोराको रूप उही थिएन। एक्कासि महिलालाई झम्टियो। वृद्धा फुत्कनै पाइनन्। उपाय चिच्याउनुबाहेक केही थिएन। चिच्याउन खोजेकी मात्रै के थिइन्, मुखमा कपडा कोचिदियो। त्यो रातभर उनी 'छोरा'को सिकार भइन्।

'उहाँ (पीडित) को वयानअनुसार रातभर अभद्र व्यवहार गरेको भन्ने खुलेको छ,' राप्ती उपक्षेत्रीय अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकलपर्सन नर्स राधा पौडेलले नागरिकसँग भनिन्। अचेत बनेकी ती महिला अर्को दिन बिहान न्याय खोज्दै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र पुगेकी थिइन्। शरीरैभरि कोतरिएका डाम, कपडा पूरै च्यातिएका। सोधेको कुराको जवाफ राम्रोसँग दिनसक्ने अवस्थै थिएन। छिनछिनमै बेहोस् हुन्थिन्। सहोदर दिदीको छोराको कुकृत्यले अर्धमृत बनेकी उनी अहिले ओरेकले सञ्चालन गरेको महिला सेभ हाउसमा छिन्।

दुई छोरीको विवाह भइसकेको छ। दुई छोरा काठमाडौंको इँटाभट्टामा मजदुरीका लागि गएका थिए। श्रीमान बेपत्ता भएको वर्षौं भइसक्यो। ऐलानी जमिनमा रहेको ओतमा ती महिलामात्रै बस्दै आएकी थिइन्। त्यसैको मौका छोपेर 'छोरा' ले सर्वश्व लुटे।

यी महिलामात्रै हैनन्, रामपुरकी ५० वर्षीया वृद्धाले पनि अस्ताउँदो उमेरमा बलात्कारको घाउ बोक्नुपर्योै। त्यो पनि आफ्नै सहोदर भाइबाट। रोजगारीका लागि भारत बस्दै आएको भाइ एक महिनाअघि घर फर्केको थियो। झन्डै वर्ष दिनपछि भाइ घर आउँदा दिदीको मन फुरुंग थियो। केही दिन भाइसँगकै सुखदुःखका भलाकुसारीमा बिते। ती वृद्धालाई पनि भाइ आफैंमाथि खनिएला भन्ने लागेको थिएन तर भैदियो त्यही। महिनाअघिको एकरात मदिराले मातेको भाइ दिदीको कोठाभित्र छिर्यो । त्यतिबेलासम्म दिदीको मनले उसलाई गलत सोचेन। बलात्कारको नियोजित योजना बुनेर मध्यरात कोठामा छिरेको भाइ के रोकिन्थ्यो? वृद्धा दिदीमाथि जाइलागिहाल्यो।

आफू बलात्कारमा परे पनि उनी भाइविरुद्ध जान सकिनन्। समाजले उल्टै गलत सोच्ला भन्ने डरले सतायो। केही दिन चुपचापै बिते तर मनभित्रको घाउले पोल्दै जान थाल्यो। छाती खोलेरै बलात्कारी निर्धक्क घरछेउमै हिँड्दा मन कुँडिएर आउँथ्यो। उही अपराधीबाट आफूमाथि झनै जोखिम बढ्दै जान थालेको अनुभूति गरिन्। अन्ततः उनले आफूमाथि परेको अन्यायको 'निसाफ' खोज्न कानुनी बाटो समाइन्। आफूमाथि बलात्कार गर्ने अपराधीविरुद्ध मुद्दा हालिन्।

पीडितको जाहेरीपछि प्रहरीले बलात्कारी भाइलाई समात्यो। वर्षौंअघि श्रीमानले कान्छी भिœयाएपछि घर छोडेर हिँडेकी उनी माइतीको आश्रयमा बस्न थालेकी थिइन् तर अहिले आफ्नै भाइलाई जेल हालेको भन्दै माइती बिरानो बनेपछि उनी एक्लिएकी छन्।

स्वाभाविकैरूपमा आफन्त, नातेदार नै सुखदुःखमा साथ दिने सहयोगी मानिन्छन्। उनीहरु गलत सोचिन्नन् तर जीवनभर पोलिरहने घाउ लगाउन पछि पर्दैनन्। जिल्लामा भएका बलात्कारका घटनामा अधिंकाश नातेदार नै पीडक देखिएका छन्।

बलात्कार घटनाको तथ्यांक हेर्ने हो भने महिनामा सरदर पाँचवटासम्म बलात्कारका मुद्दा दर्ज हुन्छन्। यीमध्ये अपरिचित व्यक्ति पीडक भएको घटना कमैमात्र छन्। कतै आफ्नै भाइभतिजा बलात्कारमा संलग्न भएको देखिएका छन् त कतै आफ्नै बाबुसमेत बलात्कारमा उद्यत देखिएका घटना पनि भेटिएका छन्।

तुलसीपुरको एउटा घटना यस्तै छ। बाबुकै कुकृत्यका कारण तीन छोरी घर छोडेर भाग्न बाध्य भए। तीन छोरी र श्रीमतीका साथ तुलसीपुरमा डेरा गरी बस्ने एक सरकारी कर्मचारी तिनै छोरीका लागि अपराधी बनेर निस्किए। उनले तिनै छोरीलाई पटक–पटक करणी प्रयास गरे।

२०६६ सालमा जेठी ९ मा, माइली ७ मा र कान्छी ५ मा पढ्दै थिए। दिनभर कार्यालयको काम सकेर डेर फर्कने बाबुले दिनहुँ छोरीमाथि गिद्धेनजर लगाउन थाले। उनी छोरीहरुमाथि लाडप्यार देखाउँथे। छोरीहरुलाई आफ्नै बाबुमाथि शंका हुने कुरै भएन। तीनैजनालाई गलत नजरले हेर्न थालेका उनले माइली छोरीमाथि बढी नै नजर लगाएका थिए। माइली अन्य दुई बहिनीभन्दा सुन्दर थिइन्। 'एक्लै आफ्नो कोठामा बोलाएर कपडा खोल्न लगाउने, शरीर टोकिदिने खेलाउनेसम्मको हर्कत गरेका रहेछन्,' घटनाबारे जानकारी लिएकी एक महिला अधिकारकर्मीले भनिन्। बाबुको घिनलाग्दो व्यवहारले तीनैजना हायलकायल बन्दै गए। पटक–पटक यौनसम्पर्कको प्रयास गर्दा पनि छोरीकै अवरोधका कारण ती बाबु सफल भने नभएको महिला अधिकारकर्मीले बताइन्।

यहाँसम्म कि राति ‰यालबाट छिरेर छोरी सुतेकै ठाउँमा गएर सुत्थे रे! अन्ततः छोरीहरुले बाबुको व्यवहारबारे आमालाई सुनाए। आमाले घटनाबारे श्रीमानलाई केही भनिनन्, बरु अन्तै गएर बस्ने योजना बनाइन्। महिला अधिकारकर्मीको सल्लाहमा उनले छोरीहरुलाई डेराबाट भगाइन् र आफू पनि भागिन्। 'घोराहीमा एउटा कोठा भाडामा लिएर बस्न सुरु गरेपछि ती नानीहरूले बल्ल सुरक्षाको अनुभूति गर्न पाए,' ती अधिकारकर्मी भन्छिन्। हाल तीनैजना सिविन नेपालको सहयोगमा काठमाडौँमा पढिरहेका छन्। ती व्यक्ति भने श्रीमतीको जाहेरीका आधारमा विभागीय कारबाहीमा परिसकेका छन्।

महिला अधिकारकर्मी भन्छन्, 'अधिकांश घटना नातेदार तथा आफन्तबाटै भएका हुन्छन्।' महिला सामुदायिक केन्द्रकी रचना सुवेदी बलात्कारका घटनामा अपरिचितको संलग्नता कमै भएको पाइएको बताउँछिन्। आफन्तले नै पीडितबारे राम्रोसँग बुझेको हुने र मौका पर्दा नातासम्बन्ध बिर्सने गरेको उनको भनाइ छ। 'बलात्कारमा अधिकांश दोषी पीडितका आफन्त वा नातेदार नै भेटिएका छन्,' सुवेदी भन्छिन्, 'पीडकहरू कतै मदिराले होस गुमाउँदा यस्तो घटनामा लागेको भेटिएका छन् त कतै असहायपनको फाइदा उठाएको पाइन्छ।' घरेलु हिंसामा परेर घरपरिवारबाट एक्लिएका बेसहारा महिला नै बलात्कारको सिकार बढी भएको पाइएको छ।

Published on: 5 April 2015 | Nagarik

Back to list

;