s

नारायणहिटीमा सर्‍यो कन्सुलर विभाग

चन्द्रशेखर अधिकारी

दिनहुँ दुई हजारले सेवा लिन्छन्

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग फेरि नारायणहिटी दरबार सारिएको छ । बुधबारदेखि कन्सुलर सेवासम्बन्धी सबै काम नारायणहिटी परिसरमा रहेको राहदानी विभागकै भवनबाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कन्सुलर विभाग रहेको स्थान त्रिपुरेश्वरमा राहदानी विभाग र कन्सुलर विभागका लागि आधुनिक ६ तले भवन निर्माण सुरु भएका कारण विभाग सार्नुपरेको हो । 

सहरी विकास तथा भवन निर्माण विभागले एक अर्ब ३६ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र उक्त भवन बनाइसक्ने छ। पार्किङसहित भवनले ९ रोपनी जमिन ओगट्ने छ। परराष्ट्र मन्त्रालयको जग्गामा बन्ने उक्त भवनमा अन्तर्राष्ट्रिय सभा–सम्मलेनका लागि ठूला सभाकक्ष र उच्चस्तरीय वार्ता कक्षसमेत रहने छन्। गणतन्त्र कार्यान्वयनसँगै परराष्ट्रको भवन शीतल निवासमा राष्ट्रपति कार्यालय बसेपछि यो मन्त्रालय भवनविहीन छ।
 
दैनिक २ हजारभन्दा बढी सेवाग्राही आउने कन्सुलर विभाग सार्न सहज थिएन। पटकपटक सर्दै आएको उक्त विभागले अब भने स्थायी संरचना पाउने छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने राहदानी र कन्सुलर विभाग अब एकै प्रांगणमा रहने छन्। बुधबारदेखि नारायणहिटीमा अस्थायी रूपमा एकै प्रांगणबाट सेवा प्रवाह हुने र ३ वर्षभित्र दुवै विभाग त्रिपुरेश्वरको आफ्नै नवनिर्मित भवनमा सारिने विभागले जनाएको छ।
 
‘राहदानी र कन्सुलर सेवा विभागका लागि अन्तर्राष्ट्रियस्तरको भवन निर्माण सुरु भएकाले अस्थायी रूपमा नारायणहिटीमा सरेका छौं। आइतबारदेखि सबै काम त्यहींबाट हुँदै छ,’ कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले कान्तिपुरसँग भने, ‘साढे दुई वर्षभित्र भवन निर्माण सक्ने लक्ष्य छ।’ दुई दिन बिदाको मौका छोपेर सबै सामान नारायणहिटी सारेर सेटिङ गर्ने काम भएको छ। त्यसो त विगत डेढ महिनाअघिदेखि सामान सार्ने काम सुरु गरेको महानिर्देशक राजभण्डारीले बताए।
 
२००७ सालमा बीपी कोइराला गृहमन्त्री हुँदा उनको निवास रहेको त्रिपुरेश्वरस्थित ऐतिहासिक भवनमा यसअघि कान्ति ईश्वरी विद्यालय सञ्चालनमा थियो। विद्यालयले ‘लिज’ मा प्रयोग गरेको जग्गाको म्याद सकिएपछि पाँच वर्षअघि कन्सुलर सेवा विभाग नारायणहिटीबाट त्यहाँ सारिएको थियो। भूकम्पमा उक्त भवन भत्किएपछि टहराबाटै काम चलाइएको थियो।
 
Published on: 30 April 2018 | Kantipur

Back to list

;