s

नारामा समानता, व्यवहारमा असमानता

सरकार भन्छ– कानुनी रूपमा विभेद गरेका छैनौँ

लक्ष्मी बलायर

पुनर्निर्माण भइरहेको रानीपोखरीको मूल गेटछेउमै छ, इँटाको थुप्रो । राधिका कार्की (४०) डोकोमा इँटा हाल्दै थिइन् । उनले बालुवा चाल्दै र इँटा बोक्दै जीवन चलाएको १२ वर्ष भयो । दोलखाकी राधिका अहिले कोठा लिएर परिवारसहित असनमा बस्छिन् । उनले सुरुमा दिनको दुई सय रुपैयाँ ज्याला पाएकी थिइन् । भन्छिन्, ‘काम उत्तिकै गर्छौं, तर महिला र पुरुषमा बराबरी ज्याला दिँदैन । हाम्रोबारे कसले बोलिदिन्छ र खोइ ?’

महिलाको समान ज्याला हुनुपर्छ भन्दै विगतमा भएका आन्दोलनबारे राधिका सम्झिन्छिन् । भन्छिन्, ‘महिलाले पनि पुरुषले जति नै ज्याला पाउनुपर्छ भन्दै पोहोर महिला दिवसमा जुलुसमा पनि गएँ । तर, केही भएन ।’ एकदिन मनाइने महिला दिवसले श्रमिक महिलाको जीवनमा खासै फरक नपार्ने उनको अनुभव छ । भन्छिन्, ‘समान ज्याला नपाएपछि यो दिवस मनाउनुको के अर्थ र खोइ ?’ महिलाले पुरुषको भन्दा बढी काम गर्नुपर्ने उनको भनाइ छ । तर, ज्याला पुरुषले बढी पाउँदा उनको चित्त दुख्छ । उनको प्रश्न छ– मुटुको नसा दुख्ने गरी मसला बनाउने महिला ज्यामीको चाहिँ किन कम ज्याला ?’

०००

रानीपोखरी पुनर्निर्माणस्थलभित्र पुग्दा शान्ति राई (३५) मचानमाथि चढेर पुटिन लगाइरहेकी थिइन् । उनी स्वयम्भू बस्दै आएकी छिन् । उनका श्रीमान् मिस्त्री हुन् । शान्तिले मजदुरी गर्न थालेको १५ वर्ष भयो । सुरुमा उनले दैनिक १४० ज्याला पाएकी थिइन् । अहिले उनले दैनिक सात सय ज्याला पाउँछिन् । ‘पुरुषलाई भन्दा महिलालाई बढी दुःख हुन्छ । तर, पुरुषहरू महिलाले गरुंगो काम गर्न सक्दैनन् भन्ने सोच्छन्, उनी भन्छिन्, ‘त्यही भएर हामीलाई कम ज्याला दिइएको होला । तर, हामीले पनि उत्ति नै दुःख गरिरहेका हुन्छौँ ।’ असमान ज्याला दिँदा नरमाइलो लाग्ने उनको भनाइ छ । उनले दुःखी हुँदै सुनाइन्, ‘पुटिङ लगाउँदा हात दुख्छ, रुघाखोकी लाग्छ, तर ज्याला पाउँदा भने पुरुषको भन्दा आधा मात्र पाउँछौँ ।’

९ वर्षअघि छोराछोरीलाई पढाउन सरिता तामाङ श्रीमान्सँगै काठमाडौं आइन् । मिस्त्री श्रीमान्को कमाइले मात्रै घर धान्न धौ–धौ भएपछि उनी पनि ज्यामी गर्न थालिन् । सरिताले मजदुरी गर्न थालेको ३ वर्ष भयो । सुरुमा उनले इँटा बोक्ने, मसला बनाउने, गिटी कुट्ने काम गरिन् । भन्छिन्, ‘महिलाले भारी काम गर्न सक्दैनन् भनेर पुरुषको भन्दा कम ज्याला दिन्छन् । तर, भारी कामजति सबै महिलाले नै गर्नुपर्छ ।’ पुरुषको भन्दा आधा ज्याला दिँदा काम गर्ने मनोबल घट्ने अनुभव छ ।

इँटा कुटिरहेकी विनिता तामाङ (६०) को नै उस्तै दुःख छ । उनले इँटा र गिटी कुट्न थालेको ७ वर्ष भयो । उमेर ढल्किसक्यो, तर बाध्यताको जिन्दगी ढल्किएको छैन । दुःख उस्तै छ, जस्तो दशकौँअघि थियो । पुरुषको तुलनामा कम ज्याला दिँदा दुःख लाग्ने उनको पनि अनुभव छ । भन्छिन्, ‘सँगै काम गर्छौं, तर, कम ज्याला पाउँछौँ । पुरुषको भन्दा कम ज्याला भए पनि पेटका लागि काम गर्नैपर्‍यो ।’

दाङकी अप्सरा शाही (३०)को उस्तै गुनासो छ । तीनवटा बालबच्चा हुर्काउन श्रीमान् एक्लैलाई धौ–धौ भएपछि उनले पनि ज्यामी काम थालिन् । श्रीमान्ले जत्तिकै दुःख गर्छिन्, तर तलब समान पाउँदिनन् । भन्छिन्, ‘महिलालाई ज्याला नै कम दिने देशमा एक दिन नारी दिवस मनाएर केही हुनेवाला छैन ।’

०००

८ मार्च श्रमिक महिलाहरूको लागि पर्वको दिन हो । उनीहरूको माग थियो, समान ज्याला, आठ घण्टे कार्यअवधि, रोजगारीमा समान अधिकारलगायत । नेपालमा पनि विगत केही वर्षदेखि यो दिवस मनाइन्छ । तर, जुन मुद्दाका लागि श्रमिक महिलाले इतिहासमा आन्दोलन गरेका थिए, त्यही मुद्दा भने नेपालमा छुट्न गएको छ । सरकारले महिला र पुरुषको असमान ज्याला हटाउने भनेर पटक–पटक निर्णय गरे पनि व्यवहारमा लागू भएको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे भन्छन्, ‘कानुनी रूपमा हामीले विभेद गरेका छैनौँ । समान ज्याला नै पाउनुपर्छ भनेका छौँ । व्यवहारमा भने असमान ज्याला सम्बन्धि गुनासोहरू आएका छन् ।’ महिला र पुरुषलाई समान ज्याला दिनू भनेर सरकारले पटक रोजगारदातालाई सुचित गरेको उनको भनाइ छ । घिमिरे भन्छन्, ‘२०७५को श्रम ऐनमा समान ज्याला सम्बन्धि व्यवस्था गरिएको छ ।’

संयुक्त टेड युनियनका अध्ययक्ष पुष्कर आचार्य नेपालमा महिला र पुरुषलाई समान ज्याला दिनुपर्छ भन्ने मान्यता राख्छन् । उनी समान ज्यालाको लागि ०४६ सालमै श्रम ऐनसमेत बनेको सम्झन्छन् । भन्छन्, ‘ज्यालामा असमान हुनुहुँदैन भन्नेमा हामी एकमत छौँ ।’नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)की शिक्षासचिव तथा बाग्मती प्रदेश सभाकी सदस्य बेलीमैया घले असमान ज्यालाको मुद्दा उठाउँदै आएको बताउँछिन् ।

‘युनियनले यसलाई लामो समयसम्म मुद्धाको रुपमा उठाउँदै आयो । आद्योगिक क्षेत्रमा एक हदसम्म समान ज्याला लागु पनि भयो । तर अन्य अनौपचारिक क्षेत्रमा महिलाले समान ज्याला अझै पाउँन सकेका छैनन् ।’ श्रमिक महिलाहरू ऐनबारे बेखबर छन् । उनीहरूको चिन्ता छ दैनिक कामसँग । उनीहरूलाई मात्र थाहा छ, पुरुषको तुलनामा तलब थोरै दिन्छन् ।

Published on: 7 March 2020 | Naya Patrika

Link

Back to list

;