s

नक्कली भिसाबाट ३ सयभन्दा बढी कामदार ठगिए

गोपाल साउद

प्रतिव्यक्ति ४० हजारदेखि २ लाखसम्म असुली

वैदेशिक रोजगार व्यवसायको अनुमतिपत्र लिएको एक म्यानपावर कम्पनीले नक्कली भिसा देखाएर कामदारहरूबाट ठगी गरेको पाइएको छ । काठमाडौंको सिनामंगलमा रहेको ब्लु स्टार ओभरसिज सर्भिसेज प्रालिले कामदारको मागपत्र नै नभई रकम तीन सयभन्दा बढी व्यक्तिबाट असुल गरेको पाइएको हो ।
 
विभिन्न व्यक्तिलाई एउटै नम्बरको भिसा उपलब्ध गराएको नयाँ पत्रिकाले फेला पारेको छ । अनिलकुमार शर्मा, मंगललाल योञ्जन र श्रीकृष्ण राईलाई कुबेतको भिसाको छाप लगाइएको फोटोकपी उपलब्ध गराइएको छ । हेभी ड्राइभरका लागि दिइएको तीनैजनाको भिसा नम्बर भने समान ‘२८९८७३८०६’ उल्लेख छ ।
 
एउटै भिसा नम्बर विभिन्न व्यक्तिको नाममा हुनु गलत भएको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ बताउँछन् ।‘भिसा नक्कली हो वा होइन भन्ने विषय जाँच नगरी भन्न सकिन्न,’ उनले भने, ‘एउटाको भिसा फोटोकपी गरेर अन्यलाई देखाइएको हुन सक्छ ।’ विभागले उक्त उजुरीमा अनुसन्धान अगाडि बढाइसकेको छ । म्यानपावर सञ्चालकहरू भने फरार छन् ।
 
प्रतिव्यक्ति ४० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल गरिएको उजुरी प्राप्त भएको विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् । पासपोर्ट भने विभागले सनाखत गरी सोमबारदेखि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सुरु गरिसकेको छ ।
 
एकै गाउँका ३० जना ठगिएखाना र बस्नको सुविधासहित सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलब उपलब्ध गराइदिने भन्दै सुरुमै आफूबाट ४० हजार रुपैयाँ लिएको बाँके खजुरा गाउँपालिकाका अनिलकुमार शर्माले बताए । उनकै गाउँबाट अन्य ३० जनाले समेत सोही म्यानपावरमा पासपोर्ट र पैसा बुझाएका थिए ।
 
उनीहरू सबैको स्वास्थ्य परीक्षणका साथै अन्तर्वार्ता पनि भइसकेको थियो । म्यानपावरले भिसा आएको जानकारी दिए पनि उनीहरू नेपालगन्जबाट काठमाडौं आए । तर, उनीहरूसहित ३२ जनाको भिसा नम्बर भने एउटै पाइएको पीडितहरूले बताएका छन् ।
 
सो विषयमा बुझ्न खोज्दा म्यानपावरका अध्यक्ष राम घिमिरेले आफूलाई थाहा नभएको भन्दै सञ्चालक सञ्जय उप्रेतीलाई देखाएर पन्छाउने गरेको पीडित शर्माले बताए । तर, सञ्जय उप्रेतीसँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरेर फरार रहेको चाल पाएपछि शर्मासहित २६ जनाले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।
 
३ सय ७१ थान पासपोर्ट बरामद
 
विभागमा अपराध महाशाखाबाट समेत गरी म्यानपावर कम्पनीविरुद्ध विभिन्न ३ वटा उजुरी परेका छन् सिन्धुपाल्चोक कदमबासका ओशन गिरीलगायत २६ जनाले शुक्रबार दिएको उजुरीका आधारमा बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले शनिबार म्यानपावरमा छापा मारेको थियो ।
 
त्यसक्रममा प्रहरीले विभिन्न व्यक्तिका नाममा रहेका ३ सय ७१ थान राहदानीसहित भिसा इन्ट्री रजिस्ट्रर, स्वीकृति नलिएका डिमान्ड लेटर, आइएमई गरिएका रसिद तथा रकम लेनदेनसम्बन्धी फाइलहरू बरामद गरेको छ । हालसम्म ६० जना पीडित कामदार विभागको सम्पर्कमा आइसकेका छन् । अन्य भने सम्पर्कमा आउनेक्रममा रहेको विभागले जनाएको छ ।
 
प्रहरीले बरामद गरिएका पासपोर्टसहित अन्य कागजात थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार वैदेशिक रोजगार विभागमा पठाइसकिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । ‘म्यानपावर सञ्चालकहरू भने अहिलेसम्म पक्राउ परिसकेको अवस्था छैन,’ उनले भने, ‘बाँकी अनुसन्धान तथा कारबाहीको काम विभागले नै अगाडि बढाउनेछ ।’
 
Published on: 9 January 2018 | Naya Patrika

Back to list

;