s

नक्कली भिसा भिडाएर फरार

देवनारायण साह

रंगेली नगरपालिका ५ का सुवासकुमार मण्डलले वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने सपना बोकेर क्यानडा जाने तयारी गरेका थिए ।

क्यानडा जानका लागि भिसालगायतको व्यवस्थापनका लागि दलाललाई जिम्मा दिए । उनलाई दलालले क्यानडा जानका लागि भिसा र हवाईजहाजको टिकट दिएपछि ५ लाख रुपैयाँ पनि दिए । क्यानाडा जानका लागि रंगेलीबाट मंसिर ९ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरेपछि भिसा र टिकट नक्कली भएको उनले थाहा पाए ।
 
बाँके नेपालगन्जका निरञ्जन पुरी, झापाको गौरीगन्ज गाउँपालिका ४ का गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झाले नक्कली भिसा र टिकट दिएर ५ लाख ठगी गरेको उनले बताए । उनीजस्तै सुनवर्षी नगरपालिका ९ का ३१ वर्षीय हंसराज राजवंशी, कशंराज राजवंशी, ३५ वर्षीय पंकज राजवंशी, २३ वर्षीय अजयदेवगत राजवंशी, प्रेमलाल राजवंशी पनि दलालबाट ठगिएका छन् ।
 
‘क्यानडा पठाउने सम्पूर्ण प्रक्रिया पूरा भएको भन्दै प्लेनको टिकट र भिसा थमाएपछि हामी ७ जनाले दलाललाई ५ लाखको दरले ३५ लाख रुपैयाँ दियौं,’ प्रेमलालले भने, ‘काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र पस्दा मात्रै हामीलाई दिएको टिकट र भिसा नक्कली भएको थाहा पायौं ।’
 
हंसराजले एकातिर ठगिएर विदेश जान नपाएको अर्कोतिर ऋणको बोझले निद्रा नै हराएको गुनासो पोखे । गिरी र पुरीले आफूहरूसँगै काठमाडौंसम्म गएर हवाईजहाजको टिकट दिलाएको र बाँकी रहेको पैसा लिएर फरार भएको उनले बताए ।
 
‘हामीलाई त्रिभुवन विमानस्थलमा प्रवेश गराएदेखि दलालहरूसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने । सातै जनाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा आफूहरू ठगिएको भन्दै उजुरी गरेका छन् ।
 
पीडितको उजुरीका आधारमा आरोपितको खोजीका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले गिरी र पुरीलाई पक्राउ गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापा र बाँकेमा पत्राचार गरेको छ ।
 
Published: 28 December 2018 | Kantipur

Back to list

;