s

नक्कली’टुरिस्ट भिसा’मा यूएई उड्न लागेका दुई नेपाली महिला बैंग्लोर विमानस्थलबाट पक्राउ

नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्षीया रविना तामाङ छन् ।
 
दुवैसँग नेपाल दूतावासले प्रमाणित गरेको सक्कली पासपोर्ट रहेको प्रहरीले जनाएको छ । तर, सारजाह उड्नको लागि उनीहरुसँग भएको युएईको पर्यटक भिसा नक्कली पाइएको छ । दुवैजनाले काठमाडौंको एक ट्राभल एजेन्टबाट भिसाको कागजात प्राप्त गरेको र भिसा सक्कली भएको दाबी गरेका थिए ।
 
तर, भारतको अध्यागमन विभागका अधिकारीले शंका लागेर दुवैको पर्यटक भिसा भारतस्थित नेपाली दूतावाससँग परीक्षण गराउँदा नक्कली रहेको पुष्टि भयो।उनीहरुलाई बैङ्ग्लोर अन्तराष्ट्रिय विमानस्थलबाट उड्नु अघि नै विमानस्थल प्रहरीले पक्राउ गरेको छ । कर्नाटक अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले रोकेपछि दुवैले आफूहरु नातेदार भएको र सारजाहमा दिदीलाई भेट्न जान लागेको बताएका थिए ।
 
उनीहरुको बयान नेपाली भाषामा भएको र एक आपसमा मेल नखाएको कारण प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको बताएको छ । प्रहरीका अनुसार दुवै महिलाहरु मंगलबार विहान साँढे चार बजेको उडानबाट सारजाह उड्ने तयारीमा थिए ।
 
Published on: 27 July 2018 | Onlinekhabar

Back to list

;