s

नक्कली श्रम स्वीकृतिमा जाने फर्के

वैदेशिक रोजगार विभागको नक्कली श्रम स्वीकृति बनाएर यूएईको दुबई जान लागेका दुई कामदारलाई विमानस्थलस्थित श्रम डेस्कले सोमबार फर्काइदिएको छ । डेस्कले श्रमस्वीकृति निस्सा शंकास्पद देखिएकाले अनुसन्धानका लागि भन्दै फर्काएको हो । उनीहरू सप्तरीका तिलाराम अधिकारी र तनहुँका रामचन्द्र पन्थ हुन् । मनीष कार्की भन्ने व्यक्तिले सबै मिलाएर आफूहरूलाई पठाउन खोजेको उनीहरूले बताए । उनीहरू दुबईको एक क्लिनिङ कम्पनीको भिसामा जाँदै थिए । विभागका अनुसार रोलेक्स ह्युमन रिसोर्सले निकालेको १५ कामदारको श्रम स्वीकृतिमा उनीहरू जान लागेका थिए । रिसोर्सको स्टिकर नम्बरमा विभागको लोगो र शाखा अधिकृतको सही छाप स्क्यान गरेर मिलाएको छ । 'स्वीकृत निकाल्ने को हो ? स्वीकृत लिएका अरू गए कि गएनन्, अनुसन्धानमा छ,' विभागले भनेको छ । डेस्कले सक्कली राहदानी र कागजातसहित उनीहरूलाई विभाग पठाएको थियो ।

Published on: 18 December 2012 | Kantipur

Back to list

;