s

नक्कली शरणार्थीका नाममा रकम उठाएर ‘करोडौंका घर’

काठमाडौँ — नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झन्डै ५ वर्षयता परिचालित संगठित गिरोहका नाइकेहरूले सर्वसाधारणबाट उठाएको रकमबाट धमाधम आफ्नो घर बनाइरहेको पाइएको छ ।

गिरोहले जनही १० देखि ५० लाख रुपैयाँसम्म उठाएर नक्कली शरणार्थी परिचयपत्र दिलाउँदै र गृह मन्त्रालयले गठन गरेको शरणार्थी प्रमाणीकरण कार्यदलको प्रतिवेदनमा नक्कली नामावली घुसाउँदै करोडौं रुपैयाँ उठाएको प्रमाण प्रहरीले फेला पारिसकेको छ । गिरोहका मुख्य नाइके केशव दुलाल (मोरङ), सानु भण्डारी (ललितपुर), टंक गुरुङ(पाँचथर) र सागर राई (मोरङ) लाई उपत्यका अपराध अनुसन्धान कार्यालयले गत साता पक्राउ गरिसकेको छ । यी सबैको हाल काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ ।

संकलित प्रमाणमा गिरोहका नाइके दुलालको अहिले धापाखेल, ललितपुरमा तीनतले घर निर्माणको क्रममा रहेको देखिन्छ । पथरी-शनिश्चरे नगरपालिका, वडा नं. १० मा परिवार सगोलको झन्डै २ बिघा जमिनबाहेक दुलालले काठमाडौंका केही तारे होटलमा समेत लगानी गरेको प्रारम्भिक सूचना आए पनि यसमा खोजबिन जारी रहेको छ । धापाखेलको नवनिर्मित घरमा पुगेर दुलालबाट ठगीमा परेका पीडितहरूले दिनहुँ घेरा हालिरहेका छन् ।

त्यस्तै, गिरोहका अर्का नाइके सानु भण्डारीले ललितपुर, हात्तीवन नजिकैको सेतुपाखामा झन्डै १ रोपनी जग्गामा सुविधासम्पन्न घर बनाइसकेका छन् । आधुनिक सूचना-संयन्त्र र सुरक्षा निगरानी गर्न सकिने व्यवस्थासहितको घरमा पुगेर पीडितहरूले घेरा हाल्न थालेपछि प्रहरीले यो सम्पत्तिबारे जानकारी पाएको हो । यस्तै, अर्का सहनाइके गुरुङको पनि धापाखेल, ललितपुरमा चारतले सुविधासम्पन्न घर बनाएको र यही घरमा हालसम्म गिरोहका नाइके दुलाल बस्दै आएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुलाल–भण्डारीसहितको गिरोहको ठगीमा परेको भनेर प्रमाणसहित सोमबारसम्म १ सय ८० भन्दा बढी उजुरी परेका छन् । अहिलेसम्म झापा, मोरङ, काठमाडौं, ललितपुर, दाङसहितका जिल्लाहरुबाट पीडित काठमाडौं प्रहरीमा आएका छन् । अहिले सम्पर्क भएका सल्यान, म्याग्दी, कास्कीसहितका पीडितहरू उजुरी लिएर मंगलबार काठमाडौं आएका छन् । कास्की, म्याग्दीका पीडितले यो संगठित गिरोहका अरु सक्रिय सदस्यबारे खुलासा गर्ने बताएका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने सपनाको बिक्री गर्दै आएको गिरोहको बढ्दो संख्या र त्यसविरुद्ध परेको उजुरीका कारण यो छानबिनलाई ठगी र संगठित अपराधका रुपमा अघि बढाउनेबारेको परामर्शमा गृह मन्त्रालय जुटेको छ । यो गिरोहबारेको समाचार सार्वजनिक भएपछि गृहसचिव विनोदप्रकाश सिंहले प्रहरीले थालेको यो अनुसन्धानलाई टुंगोमा पुग्न दिनु जरुरी रहेको भन्दै यो प्रकरणमा गृह मन्त्रालयकै कर्मचारी कोही संलग्न भएमा पनि छानबिन जारी रहने प्रतिबद्धता जनाइसकेका छन् ।

Published on: 5 April 2023 | Kantipur

Link

Back to list

;