s

नक्कली शरणार्थी परिचयपत्र : को हुन् गिरोहका नाइके दुलाल ?

विनोद भण्डारी

विराटनगर — नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बाँड्दै लाखौं ठगी गर्ने गिरोहका नाइके भनिएका केशव दुलाल आइतबारदेखि प्रहरी हिरासतमा छन् । उनी भर्खर मात्र पक्राउ परे पनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाउने धन्दामा एक दशकअघि नै लागिसकेको निकटस्थहरूले बताएका छन् ।

दुलालको घर मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरनजिकै छ । भुटानी शरणार्थी सरोकारसँग चिरपरिचित उनी राजनीतिक पहुँच बढाएपछि ठगी धन्दामा लागेको स्थानीयको भनाइ छ । दुलाल २०५७ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भएपछि काठमाडौंमा कांग्रेसका नेताहरूसँग उनको उठबस सुरु भएको थियो । विराटनगरको कोइराला निवासमा बाक्लै आउजाउ गर्ने क्रममा दुलाल कांग्रेस नेता सुजाता कोइरालासँग नजिकिएका थिए । २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान र परराष्ट्रमन्त्री बनेका बेला कोइरालाले दुलाललाई निजी सहायकमा नियुक्त गरेकी थिइन् । त्यही जिम्मेवारी पाएसँगै दुलालले विभिन्न दलसँग सम्बन्ध बढाएका थिए ।

कोइरालाको निजी सहायक भएकै बेला दुलाल कर्मचारीतन्त्रसँग ‘सेटिङ’ मिलाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै विभिन्न मुलुक पठाउने धन्दामा लागेको निकटस्थको भनाइ छ । ‘सामान्य रहनसहनमा बस्ने दुलालको हाउभाउ बदलिएपछि सशंकित बनेकी सुजाताले निजी सहायकबाट निकालेकी थिइन्,’ कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार अहिले कोइराला र दुलालको सम्बन्ध राम्रो छैन । कांग्रेस नेता कोइराला भने ‘गिरोहको नाइके भनिएको दुलालसँग आफ्नो चिनजान नरहेको’ दाबी गर्छिन् । उनले आफ्नो सहयोगीका रूपमा लक्ष्मण थपलियाबाहेक अरू कोही नरहेको कान्तिपुरलाई बताइन् ।

तर कान्तिपुरलाई प्राप्त तस्बिर तथा सूचनामा पथरी क्षेत्रका केही ‘क्लाइन्ट’ युवालाई लिएर दुलालले काठमाडौंमा कोइरालासँग भेटघाट गरेको देखिन्छ । दुलालले अमेरिका लैजाने भन्दै जनही १० लाख रुपैयाँभन्दा बढी रकम असुलेकामा चर्को विरोध भएपछि थामथुम गर्न कोइराला निवासमा पुर्‍याएर भेटघाट गराएको पीडित एक युवाले बताए ।

दुलालले पथरी–१० का पूर्ववडाध्यक्ष सागर राई, कानेपोखरीका धिरन राई, बेलबारी–११ का हालका वडाध्यक्ष विक्रम बान्तवा राई, बेलबारी–१० का अध्यक्ष गंगा याखा, बेलबारी–४ का इन्द्र राई र वडा ६ का कांग्रेस महाधिवेशन प्रतिनिधि डम्बर राईलाई स्थानीय एजेन्ट बनाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने नाममा रकम उठाउने गरेको ती पीडितको भनाइ छ । उनका अनुसार दुलाल संलग्न गिरोहले प्रतिव्यक्ति १० देखि ३० लाख रुपैयाँसम्म उठाउने गरेको थियो ।

ठगी धन्दापछि स्थानीय एजेन्टहरूसमेत कार चढ्न थालेका थिए । ‘गाउँका स्थानीय एजेन्टले रकम उठाएर पठाउन थालेपछि दुलालले काठमाडौंमा घरसमेत किने, गाडी जोडे,’ पथरी मंगलबारेस्थित उनका एक छिमेकीले भने, ‘पथरी आउँदा केशवको रवाफ नै बेग्लै हुन्थ्यो ।’ पूर्वमाओवादी एवं हाल एमाले नेता टोपबहादुर रायमाझीसँग निकट संगत रहेको भन्दै उनीसँगै घुमघाममा गएको तस्बिर पठाउँदै दुलालले आफूले पैसा उठाएका सर्वसाधारणको विश्वास जित्ने कोसिस गर्थे । पीडितका अनुसार ‘अमेरिका लैजाने योजनाका बारेमा अन्तिम चरणको छलफल गर्न हामी गोसाइँकुण्डसमेत गयौं’ भन्दै दुलाल र सानु भण्डारीले विभिन्न व्यक्तिलाई तस्बिर पठाएका थिए । कान्तिपुरलाई प्राप्त तस्बिरमा एउटा हेलिकोप्टर अगाडि नेता रायमाझीसँगै दुलाल, भण्डारी र अरू सहयोगी उभिएको देखिएको छ ।

अमेरिका जान नपाएपछि नेपाली नागरिकले एजेन्टसँग रकम फिर्ता माग्न थालेका थिए । यस क्रममा बेलबारी–१० का वडाध्यक्ष गंगा याखाले ३० लाख रुपैयाँ फिर्तासमेत गरेको स्थानीयको भनाइ छ । दुलालका स्थानीय एजेन्टविरुद्ध बेलबारी–११ को वडा कार्यालयमा समेत उजुरी परेको छ । तत्कालीन वडाध्यक्ष राजन भन्ने यमबहादुर पोखरेलले ‘अमेरिका लैजाने भनेर वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै केही व्यक्तिबाट परेको लेनदेनको उजुरीलाई प्रमाणित गरी पठाइदिएको’ जानकारी दिए । पैसा फिर्ता माग्दा एजेन्टहरू सम्पर्कमै नआएको उनले बताए ।

दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार बनेका थिए । जम्मा ८ मत ल्याएर लज्जास्पद रूपमा हारेपछि गत प्रतिनिधिसभा निर्वाचनमा उनले आफ्नै खर्चमा कांग्रेसका आधिकारिक उम्मेदवार सुनील शर्माविरुद्ध जयराज संयोग (विजयकुमार गच्छदारका विश्वासपात्र) लाई बागी उम्मेदवार उठाएको कांग्रेसका एक जिल्ला नेताले बताए । ‘पार्टीमा विद्रोह नगर्न र मानव तस्करी काम छाड्न दुलाललाई धेरै पटक आग्रह गर्‍यौं,’ दुलाल नेविसंघका जिल्ला सचिव हुँदाका सभापति ज्ञानेन्द्र ढकालले भने, ‘तर, दुलालले पैसाको बलमा उल्टै हामीलाई नै देखाइदिने चेतावनी दिए ।’

Published on: 28 March 2023 | Kantipur

Link

Back to list

;