s

नक्कली शरणार्थी बनाएर विदेश पठाउने गिरोह पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भनेर ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गतिविधिमा सक्रिय तीन जनालाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

‘विगत पाँच वर्षदेखि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाउने गिरोह सक्रिय रहेको गुनासो पाइरहेका थियौं,’ उनले भने, ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाउने बाहनामा ठगिएको गुनासोसहित जाहेरी दर्ता भएसँगै हामीले राजधानी वरपर निगरानी बढाएका थियौं। आइतबार ठगी गर्दै गरेको अवस्थामा काठमाडौं वरपरका विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरेका छौं। बाँकी अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार पक्राउ पर्नेमा तत्कालीन परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाका सहयोगी मोरङका केशव दुलाल, सानु भण्डारी र टेककुमार गुरूङ छन्।

उनीहरूले ८१ जना नेपाली नागरिकहरूबाट करिब १५ देखि २५ लाख रूपैयाँ लिएर भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने १४ करोड रूपैयाँ हाराहारी ठगी गरेको दाबी प्रवक्ता राठौरले गरेका छन्। ‘विभिन्न ८१ जना नेपाली नागरिकले विभिन्न मितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसम्म आएर गुनासो र पछिल्लोपटक जाहेरी दर्ता भएपछि हामीले निगरानी बढाएका थियौं,’ उनले भने, ‘पीडितहरूबाट सो गिरोहले जनही १५ देखि २५ लाख रूपैयाँसम्म उठाएर भुटानी शरनार्थी बनाएर अमेरिका लैजाउन भनी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ८१ जना नेपाली नागरिकहरूबाट करिब १५ देखि २५ लाख रूपैयाँ लिएर भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै १४ करोड रूपैयाँ हाराहारी ठगी गरेको अनुमान गरिएको छ।’

नक्कली भुटानी शरणार्थी परिचयपत्रदेखि सिफारिस र बैंकिङ कारोबारका आधारहरूमा प्रहरीले मौखिक र लिखित उजुरी लिइरहेको उनले बताए।

‘राजनीतिक पहुँचको आधारमा विभिन्न व्यक्तिलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर विदेश पठाइदिने भनेर बैंकमार्फत ठूलो रकम उठाएर ठगी गर्ने गरेका विवरण संकलन र मौखिक तथा लिखित उजुरीका आधारमा सो गिरोह पक्राउ परेको हो,’ उनले भने, ‘अनुसन्धानपछि राजनीतिक र पहुँचको आधारमा अन्य व्यक्तिसमेत पक्राउ पर्न सकिने देखिएको छ।’

Published on: 27 March 2023 | Nagarik

Link

Back to list

;