s

नक्कली शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका नाइके दुलालसहित ३ पक्राउ

देवेन्द्र भट्टराई

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता गिरोह सञ्चालन गरिरहेका सञ्जालका मुख्य नाइकेहरु आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार यो गिरोहले पाँच वर्षयता झन्डै १ अर्ब ठगी गरेको अनुमान छ ।

भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको 'भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन' मा नक्कली अनुसूची थप्दै झण्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गिरोहका मुख्य योजनाकार मोरङका केशव दुलालसहित पक्राउ परेका हुन् । दुलाल कांग्रेस नेता सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए ।
उपत्यका अपराध अनुसन्धान स्रोतका अनुसार, नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरु फेला परेर र पीडितहरुमध्ये झण्डै १ सयको लिखित र मौखिक उजुरीका आधारमा गिरोहका नाइके पक्राउ परेका हुन् ।

दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका छन् । यो गिरोहले देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको छ ।

Published on: 27 March 2023 | Kantipur

Link

Back to list

;