s

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

Author(s): शम्भु कट्टेल 

शम्भु कट्टेल 

बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट' बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो।

पोर्चुगलको नक्कली राहदानीमा पुस १८ गते नेपाल छिरेका रहमान र हुसेनले कुनमिङ जाने क्रममा शंकास्पद व्यवहार देखाएपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि थप सोधपुछ र निगरानी गरेका थिए। त्यही क्रममा अध्यागमनका कर्मचारीले राहदानी परीक्षण गर्दा पोर्चुगलको राहदानी नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
 
अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलको दुई वटा राहदानी भेटिएको थियो। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको बताए। अध्यागमन विभागले ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
 
नेपाल आउने क्रममा विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले रहमान र हुसेनले प्रयोग गरेको पोर्चुगलको नक्कली राहदानीमा आगमन अनुमति(अराइभल) दिएका थिए। बंगलादेशस्थित नेपाली दूतावासले समेत पोर्चुगलको नक्कली राहदानीमा नेपालको भिसा लगाइदिएपछि विमानस्थल अध्यागमनका कर्मचारीले कुनै शंकाबिना उनीहरूलाई पोर्चुगलकै नागरिक सम्झी आगमन अनुमति दिएका थिए। बंगलादेशस्थित नेपाली दूतावासले पोर्चुगलको नक्कली राहदानीमा किन र कसरी नेपालको भिसा दियो भन्ने विषयचाहिँ रहस्यमय बनेको छ।
 
अध्यागमनको हिरासतमा रहेका उनीहरूले बंगलादेशी नागरिक सज्जाद हुसेनको सहयोगमा पोर्चुगलको राहदानी खरिद गरेको र त्यसमा बंगलादेशबाट नेपाली भिसा लगाएको बयान दिएका छन्। हुसेनले उनीहरूलाई प्रतिव्यक्ति १० लाख रुपयाँमा पोर्चुगलको राहदानी बिक्री गरेका थिए।
 
नेपाली दूतावासले नै भिसा जारी गरेको देखेपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि धेरै सोधखोजसमेत गरेनन्। पोर्चुगलको राहदानीमा नेपाली भिसा भएपछि बिनासंकोच अध्यागमन अधिकृतले उनीहरूलाई आगमन अनुमति दिएका हुन्।
 
पाँच दिनको नेपाल बसाइपछि जब उनीहरू चीनको कुनमिङ हुँदै इटाली जान खोजे त्यसबेला मात्र अध्यागमनका अधिकारीहरूले पोर्चुगलको राहदानी नक्कली भएको भेउ पाए। बयानका क्रममा इटाली हिँडेको बताए पनि उनीहरूको साथमा भएको पोर्चुगल र बंगलादेशको राहदानीमा कुनै पनि युरोपेली मुलुकको भिसा छैन। उनीहरूले मानव तस्करको सेटिङ गर्दै आएका बंगलादेशी नागरिक सज्जाद हुसेनको सल्लाहबमोजिम नेपाल हुँदै युरोप जान लागेको बताएका छन्।
 
रहमान र हुसेन बंगलादेशबाट चीनको कुनमिङ हुँदै युरोपेली मुलुक छिर्ने प्रयत्नमा थिए। मानव तस्करमा संलग्न हुसेनले पोर्चुगलको नक्कली राहदानीमा उनीहरूलाई ढाकास्थित नेपाली दूतावासबाट कसरी भिसा दिलाइदिए र किन उनले रहमान र हुसेनलाई नेपालको बाटो हुँदै युरोपेली मुलुक छिर्न सुझाए भन्ने विषय शंकास्पद बनेको छ।
 
Published on: 10 January 2018 | Annapurna Post

Back to list

;