s

नक्कली राहदानी चिन्दैन अध्यागमन

शम्भु कट्टेल

रेजा फादे, इरानी नागरिक। उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए। उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु। उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो। तर अध्यागमन अधिकारीहरूसँग नक्कली राहदानीवाहक व्यक्तिलाई किन आगमन छाप दिएको भनेर सोध्दा सधैं एउटै जवाफ दिन्छन्, ‘अध्यागमनको प्राविधिक पक्ष कमजोर छ। फादेका विषयमा पनि त्यही भयो।’

अध्यागमनका कर्मचारीको भनाइ एउटा सीमासम्म सत्य छ। अध्यागमनमा ‘बायोमेट्रिक्स’ सहितको सफ्टवेयर प्रणाली छैन। गतिलो प्रविधि नहुँदा अवाञ्छित विदेशीले सहजै प्रवेश पाउने गरेका छन्। फादे जस्ता कैयौं अवाञ्छित विदेशीले काठमाडौंलाई ट्रान्जिट बनाइरहेका छन्। कति बाहिर आउँछ, धेरै गुपचुप।

अध्यागमन विभागले अहिले बायोमेट्रिक्स सहितको सफ्टवेयर निर्माणलाई तीव्रता दिएको छ। तर तयार भइसकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले फादेको स्पेनको नक्कली राहदानीमा आगमन (अराइभल) छाप लगाइदिए। उनीहरूले फादेको राहदानी नक्कली भएको अनुमानै गर्न सकेनन्।

साउन ३–७ सम्म काठमाडौंमा बसेका फादेले कसकसलाई भेटे कसैसँग सूचना छैन। उनी कतार एयरबाट साउन ७ गते स्पेन जान विमानस्थल पुगेपछि मात्र नक्कली राहदानी रहेको पुष्टि भयो। फादे कतार एयरबाट उम्किन सकेनन्। कतार एयरका कर्मचारीले परीक्षणका क्रममा फादेको स्पेनको राहदानी भएको भन्दै बोर्डिङ पास दिएनन्। ती कर्मचारीले अध्यागमनमा खबर गरे र उनी त्यहीं पक्राउ परे। अध्यागमन विभागले उनी इरानी भएको पुष्टि गर्‍यो।

बयानका क्रममा उनले आफू इरानी भएको अस्वीकार गर्दै आएका थिए। अनुसन्धानका क्रममा उनको झोलाबाट इरानको मुद्रा भेटियो। अध्यागमन अधिकारीले सबै प्रमाण जुटाएपछि उनी इरानी नागरिक भएको स्विकार्न बाध्य भएका थिए। इरानमा मानव अधिकार र धार्मिक स्वतन्त्रता नभएको भन्दै कतिपय इरानी देश छाडिरहेका छन्। विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले फादेलाई निष्कासनको तयारी भइरहेको बताए। उनले भने, ‘सुरुमा फादेले इरानी भएको इन्कार गरे। थप प्रमाण जुटाएपछि स्विकारे।’

उनले टर्कीको इस्तानबुलमा नौ हजार अमेरिकी डलरमा स्पेनको राहदानी खरिद गरेको जानकारी दिए। मानव तस्करको गिरोहले नेपाल हुँदै स्पेन जान सुझाएकाले यो योजना बनेको हुन सक्ने आशंका छ। फादे टर्की र टर्कीबाट काठमाडौं आउँदा इरानको राहदानी प्रयोग गरेका थिए। यहाँ ओर्लिएपछि उनले इरानी राहदानी फालेर स्पेनको नक्कली राहदानी प्रयोग गरेका हुन्। विमानस्थल अध्यागनका डेस्क अधिकृतले फादेले प्रयोग गरेको त्यही स्पेनको नक्कली राहदानीमा सहजै आगमन छाप लगाइदिएका थिए।

फादे मात्र होइन, धेरै इरानीले युरोपेली मुलुकको नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन्। दुई वर्ष ओभरस्टे बसेका अर्का इरानी नागरिक हमिद रेजा कारजाईलाई विभागले मंगलबार इरान फर्काएको छ। एक वर्षअघि इरान जाँदा उनी ट्रान्जिटमा इस्तान्बुल एयरपोर्टमा लुकेका थिए। टर्की प्रहरीले पक्राउ गरी नेपाल फर्काएको थियो। इरान फर्कन इन्कार गर्दै आएका उनलाई नेपालस्थित यूएनएचसीआरको कार्यालयले शरणार्थीको मान्यता दिन मानेन। गृह मन्त्रालयले ५ वर्ष प्रवेशमा प्रतिबन्ध लगाएर निष्कासन गरेको हो।

Published on: 1 August 2019 | Annapurna Post

Back to list

;