s

नक्कली प्रमाणपत्र दिएर पठाइन्छ वैदेशिक रोजगारीमा

मुना कुँवर

भर्खरै २० वर्ष लागेका जनकपुरका राम दासको हातमा कुनै सीप छैन, तर उनी वैदेशिक रोजागारीका लागि मलेसिया उडेका छन् । त्रिभुवन विमानस्थलमा भेटिएका रामले मलेसियास्थित एक ग्लोब कम्पनीमा रोजगारीका लागि जान लागेको बताए । पहिलोपटक विदेश जान लागेका राम दासले वैदेशिक रोजगार बोर्डले तयार पारेको अभिमुखीकरण तालिमका विषयमा जानकारी नै नभएको बताए । मलेसिया जानका लागि उनले म्यानपावर कम्पनीलाई तीन लाख २० हजार बुझाएका छन् ।

त्यस्तै, झापाका ३२ वर्षीय तेजप्रसाद कार्की वदेशिक रोजगारीका लागि कतार पुगे । त्रिभुवन विमानस्थलमा भेटिएका कार्कीले ड्राइभर भिसामा कतार जान लागेको बताए । एजेन्टलाई एक लाख ५० हजार बुझाएका उनले पनि वैदेशिक रोजगार बोर्डले तालिम केन्द्रमार्फत दिने अभिमुखीकरण तालिम भने लिएका छैनन् । २८ वर्षीय दाङका रामु मगर वैदेशिक रोजगारीका लागि युएई पुगेका छन् । युएईमा रोजगारीमा जान मगरले एजेन्टलाई एक लाख ८० हजार बुझाए पनि अभिमुखीकरण तालिम भने लिएका छैनन् । भिसा आएपछि म्यानपावर कम्पनीले बोलायो र मेडिकल चेकअप गरेपछि उनी सीधै युएई जान विमानस्थल पुगे ।

यी प्रतिनिधि घटना मात्रै हुन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये ९९ प्रतिशतले वैदेशिक रोजगार बोर्डले तयार पारेको अभिमुखीकरण तालिम लिँदैनन् । तालिम केन्द्र सञ्चालकहरूका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिने र एकाध संस्थागत रूपमा जानेले मात्रै अभिमुखीकरण तालिम लिने गर्छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई वैदेशिक रोजगारी विभागले नियमन गर्न नसक्दा म्यानपावर कम्पनी र तालिम केन्द्रहरूले फाइदा उठाइरहेका छन् । विभागले नियमित अनुगमन गर्न नसक्दा म्यानपावर कम्पनी र तालिम केन्द्रले कामदारलाई तालिम नै नदिईकन भटाभट प्रमाणपत्र दिने गरेको विभागका महानिर्देशक उमाकान्त आचार्य स्वीकार गर्छन् ।

सरकारले वैदेशिक रोजगारमा जाने कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अनिवार्य गरेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको गन्तव्य मुलुकबाट भिसा आएपछि मेडिकल, बायोमेट्रिक, बिमा, कल्याणकारी कोषको रकम र अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्छ । यो प्रक्रिया पूरा गरेपछि मात्रै कामदारले श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति पाउँछन् ।

तर, कामदारले अभिमुखीकरण तालिम नै नलिई तालिम केन्द्रमार्फत नक्कली प्रमाणपत्र लिने पाइएको विभागका महानिर्देशक आचार्यले बताए । यसअघि विमानस्थलमा क्रसचेक गर्ने प्रावधान थियो । तर, त्यसले कामदारलाई झन्झट भयो भनेपछि हटाइयो । त्यसैले पनि कामदारले तालिम लिए–नलिएको परीक्षण गर्ने कुनै मेकानिजम नहुँदा समस्या बढेको उनले बताए ।

तर, तालिम केन्द्र सञ्चालकहरूले भने म्यानपावर व्यवसायी, तालिम केन्द्र र विभागको आइटी शाखाको मिलेमतोमा कामदारले तालिम नलिएको भए पनि अन्तिम श्रम स्वीकृति दिने गरेको बताए । सामान्यतया कामदारले ११ घन्टाको दुईदिने तालिम लिनुपर्छ । तालिममा प्रवेश गर्दा र तालिम सकिएपछि कामदारले औँठाछाप लगाएर इलेक्ट्रोनिक हाजिर पनि गर्नुपर्छ । तर, औँठाछाप लगाउने मेसिनको दुरुपयोग गरी तालिमकर्ता आफैँ वा कुनै डमी कामदार बनाउने गरेको छ । यस्तो गलत कार्यमा विभागको आइटी शाखाको पनि सहयोग भएको उनको आरोप छ । उनका अनुसार तालिम केन्द्रमा भएको हाजिरीलाई विभागको आइटी शाखाले प्रमाणित गरी श्रम कार्यालयमा रिपोर्ट पठाउँछ । त्यही रिपोर्टका आधारमा श्रम कार्यालयले अन्तिम स्वीकृति दिन्छ । इलेक्ट्रिोनिक हाजिरमा प्रयोग भइरहने आँैठा विभागको आइटी शाखा पहिचान गर्छ । तर, तालिम केन्द्र र म्यानपावरको मिलेमतोमा विभागको आइटी शाखाले आँखा चिम्लने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगार अभिमुखीकरण तालिम व्यवसाय महासंघका अध्यक्ष राजाराम गौतमले भने सरकारले व्यवस्था गरेको शून्य लागतका कारण कामदार तालिममा उपस्थित नहुने बताउँछन् । उनका अनुसार म्यानपावर कम्पनीले कामदारलाई अभिमुखीकरण तालिममा नै पठाउँदैनन् । उनीहरूले कामदारबाट रकम असुल्छन् र तालिम केन्द्रमा सेटिङ मिलाएर प्रमाण निकाल्छन् । तर, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने कामदार काठमाडौंमा आएर तालिम लिँदा थप आर्थिक भार पर्ने भएकाले स्थानीय निकायमा नै तालिम लिने गरेको जिकिर गर्छन् ।

वैदेशिक रोजगारीमा जानका लागि लिनुपर्ने अभिमुखीकरण तालिमको विषयमा विभागको कुनै रेकर्ड नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । तालिम केन्द्रमा तालिम दिएपछि कामदारको विवरण विभागको फेमिस सफट्वेयरमा राख्नुपर्ने हो । तर, सफ्टवेयरले पनि धान्न नसक्ला भनेर विवरण राख्न नसकिएको उनले बताए ।

म्यानपावर र तालिम केन्द्र जिम्मेवार भएनन्
उमाकान्त आचार्य, महानिर्देशक, वैदेशिक रोजगार विभाग
सरकारले अभिमुखीकरण तालिमलाई अनिवार्य गरेपछि म्यानपावर व्यवसायी र तालिम केन्द्रले यसको जिम्मेवारी लिनुपर्ने हो । तर, उनीहरूले यसलाई महत्व दिएनन् । त्यस्तै, कामदार पनि आफू जिम्मेवार भएनन् । जसको फाइदा कम्पनी र तालिम केन्द्रले उठाए ।

दोषीलाई कारबाही गर्नुपर्छ
राजाराम गौतम, अध्यक्ष, वैदेशिक रोजगार अभिमुखीकरण तालिम व्यवसाय महासंघ
तालिमलाई प्रभावकारी बनाउने हो भने आधाभन्दा बढी कामदार जोखिममा पर्नबाट जोगिनेछन् । तालिममा कामदारलाई सबै कुरा सिकाइन्छ । तर, नियमनकारी निकाय नै संवेदनशील छैन । दोषीलाई कारबाही गर्नुपर्छ ।

कामदारलाई आर्थिक भार पर्छ
राजेन्द्र भण्डारी, अध्यक्ष, वैदेशिक रोजगार व्यवसाय संघ
कामदारले अभिमुखीकरण तालिम नलिईकन अन्तिम श्रम स्वीकृति लिन नै पाउँदैनन् । तर, काठमाडौंमा दुई दिन आएर तालिम लिँदा कामदारलाई थप आर्थिक भार पर्छ । त्यसैले स्थानीय निकायबाट नै तालिम दिने व्यवस्था गर्नुपर्छ ।

Published on: 28 April 2023 | Naya Patrika

Link

Back to list

;