s

नक्कली पासपोर्टमा नेपाल छिरेका ६ पाकिस्तानी पक्राउ

शम्भु कट्टेल

बेलायतको नक्कली राहदानीमा काठमाडौं छिरेका पाँच जना पाकिस्तानी नागरिक र एक एजेन्ट पक्राउ परेका छन् । त्रिवि अध्यामगन कार्यालयबाट बेलायतको नक्कली राहदानीमा नेपालको भिसा लिएर काठमाडौँ छिरेका उनीहरूसँग पाकिस्तानको समेत राहदानी भएको गोप्य सूचना पाएपछि प्रहरीको सहयोगमा त्रिवि अध्यागमन कार्यालयका कर्मचारीले ठमेलको एक होटलबाट आइतबार राति पक्राउ गरेका हुन् ।

पक्राउ परेका ६ जना पाकिस्तानी अहिले अध्यामगन विभागको हिरासतमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले प्रहरीको सहयोगमा ठमेलबाट चार र विमानस्थलबाट १ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका हुन् । अध्यागमन कार्यालयले बेलायतको नक्कली राहदानी प्रयोग गर्ने पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाकालाई पक्राउ गरेको हो । यी पाँच पाकिस्तानीलाई बेलायतको नक्कली राहदानी उपलब्ध गराएर एजेन्टको काम गर्दै आएका पाकिस्तानी राहदानी वाहक दिन माजार फारिद उदलाई समेत पक्राउ गरिएको छ ।
 
उनीहरूलाई अनुसन्धानका लागि कालिकास्थानस्थित अध्यागमन विभागमा बुझाइएको छ । अवैध रूपमा बेलायत जान खोज्ने पाकिस्तानी नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि विभाग पठाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले बताए ।
 
पाकिस्तानी नागरिक गत शुक्रबार दुबईको सारजाहबाट काठमाडौँ आएका थिए । सारजाहबाट काठमाडाँै आउने क्रममा पाकिस्तानी राहदानीमा प्रस्थान अनुमति लिएका ती पाँच जना पाकिस्तानी नागरिकले विमानस्थल अध्यागमनमा भने बेलायतको नक्कली राहदानी देखाएका थिए । त्रिवि अध्यामगनका कर्मचारीले ती पाकिस्तानी नागरिकले पेस गरेको बेलायतको नक्कली राहदानीमा नेपालको प्रवेशाज्ञा (भिसा) दिएका थिए ।
 
एजेन्टको काम गर्ने फारिदले भने त्रिवि अध्यागमनमा पाकिस्तानकै राहदानीमा भिसा लिएका थिए । त्रिवि अध्यागनका कर्मचारीले प्रवेशाज्ञा दिँदा उनीहरूले प्रयोग गरेको बेलायती राहदानी नक्कली भएको पत्तो पाएनन् । तर उनीहरू पाकिस्तानी नागरिक भएको थाहा पाएपछि अध्यागमनका कर्मचारी प्रहरीसहित उनीहरूलाई खोज्न परिचालित भएका थिए ।
 
Published on: 19 June 2018 | Annapurna Post

Back to list

;