s

नक्कली कागजातले २२ नेपाली अलपत्र

मोरङका धनबहादुर शाही त्यतिखेर अचम्ममा परे, जतिखेर तलब माग्दा कम्पनीले पहिला नै ऋणबापत ६ हजार रियाल बुझिसकेको कागज देखायो । उनीहरू कतार आउँदा कम्पनीले दिएका कागजमा हस्तक्षार गर्न लगाएको थियो । 'यो कागजमा हस्तक्षर गर भनेर दियो । अंग्रेजीमा थियो । हामी सबैले हस्ताक्षर गर्‍यौं,' उनले भने, 'अहिले तलब माग्दा ऋण लिएको भनेर उल्टै पैसा फिर्ता माग्छ ।'

उनीहरू काठमाडौंस्थित प्याराडाइज इन्टरनेसनल र डिलक्स म्यानपावरलाई ६५ हजारदेखि एक लाख रुपैयाँसम्म तिरेर यहाँ आएका हुन् । 'हामी २२ नेपाली अहिले अलपत्र छौं,' उनले भने, '१४ जना प्याराडाइज र ८ डिलक्सबाट आएका हौं ।'

उनीहरूले आफूलाई झुक्याएर हस्ताक्षर गरेको भन्दै नेपाली दूतावासमा सहयोगका लागि पुगेका छन् । पीडितले काम नगरेपछि कम्पनीले १० दिनदेखि खाना दिएको छैन । एक नेपाली कामदार दिलबहादुर क्षेत्रीले पीडितलाई खानामा सहयोग गर्दै आएका छन् ।

१४ जना नोभेम्बर अन्तिम साता र ८ जना फेब्रुअरीमा आइपुगेका थिए । ती कामदार अहिले सहेलियास्थित १ नम्बरमा बसिरहेका छन् । पीडितहरूले नेपाली दूतावासमा ल्याउने कम्पनी 'गार्डेन टाउन' विरुद्ध उजुरी दिएका थिए । श्रम सहचारी लीलानाथ दाहालले कम्पनी मुदिर एउटा इजिप्सियनलाई बोलाएर समस्या समाधानका लागि आग्रह गरेका थिए । उसले पीडित दूतावास गएपछि कोठामा समेत बस्न नदिई निकालेको थियो । उनीहरू तीन दिन बाहिरै बस्नुपरेको थियो ।

पीडितहरूले न्यायका लागि यहाँको श्रम विभागमा पुगे पनि सुनुवाइ हुन नसकेको बताए । त्यस बेला विभागसमक्ष कम्पनीले पैसा लिएको कागजात पेस गरेपछि मुद्दा लड्न उच्च अदालत जान सिफारिस गरेको थियो । 'हामी अदालतमा मुद्दा लड्न आएको होइन,' नेपालगन्जका बलराम श्रेष्ठले भने, 'हामी छिटो घर र्फकन चाहन्छौं ।'

उनीहरू काम छाडेर नेपाल जाने प्रतीक्षामा छन् । कम्पनीले नेपाल जाने भए २ हजार रियाल तिर्नुपर्ने बताइरहेको छ । 'हामी यतिखेर सर्च एन्ड फलोअप डिपार्टमेन्टबाट नेपाल जान धाइरहेका छौं,' उनले भने, 'त्यताबाट छिटो होला जस्तो छैन ।' श्रम सहचारी दाहालले पीडितलाई जतिसक्दो छिटो उद्धारको प्रक्रिया भइरहेको बताए ।

Published on: 8 April 2015 | Kantipur

Back to list

;