s

नक्कली कागजातबाट श्रम स्वीकृति: श्रम मन्त्रालयद्वारा छानबिन गर्न विभागलाई निर्देशन

योगेश खतिवडा, दिनेश रेग्मी

नक्कली कागजातमार्फत वैदेशिक रोजगारीमा जाने गरेको गुनासो बढेपछि श्रम मन्त्रालयले छानबिन गरी प्रतिवेदन बुझाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

विदेशमा रहेका कामदार बिदामा आएर फेरि र्फकने बेला म्यान पावरका एजेन्ट र विभागका कार्मचारीले विभिन्न बहानामा दुःख दिन थालेको गुनासो बढेपछि मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको हो । सरकारले बिमा र कल्याणकारी कोषको अवधि सकिए बिमा नवीकरण गर्नुपर्ने र काम गर्न जाने कम्पनीसँगको सम्झौतापत्र बुझाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि कर्मचारीको मिलेमतोमा एजेन्टले नक्कली सम्झौतापत्र बनाउनेको संख्या बढ्दो छ ।

'
नक्कली सम्झौतापत्र बनेको गुनासो आएपछि सत्यतथ्य अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेका छौं,' मन्त्रालयका सहसचिव कृष्णहरि पुष्कर कर्णले भने ।

नयाँ व्यवस्थाअन्तर्गत सम्झौता पत्र बुझाउनुपर्ने कुरा थाहा नभए पछि नेपाल आएका धेरै कामदार नक्कली सम्झौतापत्र बनाएर भए पनि कामका लागि सम्बन्धित देश जान बाध्य छन् । यसैबीच नयाँ व्यवस्था मुख्य रोजगार गन्तव्य मुलुकका नेपाली दूतावासमा पनि जानकारी नभए पनि वैदेशिक रोजगार विभागले बिदामा घर आई फेरि फर्किएका कामदारले पुनः सम्झौतापत्र बुझाएर श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएको भन्दै त्यसबारे विभिन्न मुलुकका दूतावासलाई जानकारी गराउन श्रम मन्त्रालयलाई पत्र पठाएको छ ।

विभागका निर्देशक लालबाबु कवारीले यसरबारे श्रम मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै विभिन्न दूतावासमा जानकारी गराउन आग्रह गरेको बताए । 'नयाँ व्यवस्थाअनुसार बिदामा आएका तर अघिल्लो पटकको गरेको बिमा र कल्याणकारी कोषको अवधि सकिएका कामदारले पुनः बिमा, कल्याणकारी कोषमा रकम राख्नुपर्ने साथै रोजगार सम्झौतापत्र बुझाउनुपर्ने व्यवस्थाको जानकारी गराउन भनेको छौं,' उनले भने ।

उनले नयाँ व्यवस्थामा व्यक्तिगत श्रम स्वीकृति लिनेले सबै बुझाउनुपर्ने भएकाले यसमा कडाइ गरिएको बताए । तर अहिले धेरैमा यसको जानकारी नभएकाले समस्या आएको भन्दै यसको व्यापक जानकारी गराउने उनले बताए ।

यसअघि सम्झौतापत्र बिना कामदार जाने गरेकामा विभागले हालै यसमा कडाइ गरी नयाँ निर्देशन जारी गरेपछि कामदारले दुःख पाउने गरेका छन् । उनले नयाँ व्यवस्थाअन्तर्गत नक्कली कागजात बनाउने गरेको र त्यसमा दलाल सक्रिय रहेका भन्ने गुनासो आएको अवस्थामा त्यसलाई रोक्ने बताए ।

Published on: 13 July 2011 | Kantipur

Back to list

;