s

नाकामा मृत्यु भएका युवा कोरोना संक्रमित भएको पुष्टि

माधव ढुंगाना

भैरहवा — घर फर्किने क्रममा बुधबार बिहान भारतको सुनौलीमा मृत्यु भएका नेपाली युवक कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतको मुम्बइमा रोजगारी गरी घर फर्केका नवलपरासीको सुस्ता गाउँपालिकास्थित कुडिया (साविक कुडिया गाविस–८) का ३५ वर्षीय ती नागरिकको बुधबार बिहान दशगजा सिमाना नजिकै बसिरहेको बेला अचानक मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनको मृत्युपश्चात् भारतीय स्वास्थ्यकर्मीद्वारा कोरोना परीक्षण गर्दा पोजिटिभ आएको जानकारी भारतीय प्रहरीले दिएको बताए । उनका अनुसार कोरोना परीक्षण रिपोर्ट आएपछि उनको अन्त्येष्टि भारततर्फ नै गरिने भएको छ । उनीसँगै यात्रा गरेका अन्य दुईजना भने कोरोना परीक्षण हुनु अगावै भारतबाट भागेकाले संक्रमणको अवस्थाका बारेमा जानकारी नभएको बताइएको छ । ती व्यक्तिसँग पाल्पाका दुई जनाले यात्रा गरेका थिए । साला र जेठान नाता पर्ने ती दुईजना भारतको महाराजगन्जस्थित अस्पतालमा पुर्‍याइएपछि भागेर सुनोली नाका हुँदै बिहीबार नेपाल प्रवेश गरी गन्तव्यतर्फ लागेको पाइएको छ ।

शवसँगै उनीहरुलाई पनि भारतीय स्वास्थ्यकर्मीले बुधबार एम्बुलेन्सबाट कोरोना परीक्षणका लागि महाराजगज अस्पतालमा लगिएको थियो ।

Published on: 11 June 2020 | Kantipur

Link

Back to list

;