s

नाकामा चाप उस्तै, सास्ती घट्दै

प्रदेश ब्युरो

बुटवल — स्थानीय तहहरुले आफ्ना नागरिकलाई सम्बन्धित पालिकाले उद्धार गर्न थालेपछि प्रदेश ५ का मुख्य नाकामा भारतबाट फर्किने नेपालीले भोग्नुपर्ने सास्ती हट्दै गएको छ । तर कोरोना महामारीका कारण भारतका विभिन्न सहरबाट मुलुक फर्किनेको चाप घटेको छैन । मुख्य तथा सहायक नाकामा दैनिक स्वदेश आउनेको भीड लाग्ने गरेको छ । उनीहरूलाई अहिले नाकामा रोकटोक छैन ।

रूपन्देहीको सुनौली नाका हुँदै भारतबाट घर फर्कने नेपाली र यताबाट भारततर्फ जान खोज्ने भारतीय मजदुरको बिहानदेखि साँझसम्म ताँती लाग्ने गरेको छ । जेठ दोस्रो सातादेखि बेलहिया–सुनौली नाका हँुदै यहाँका विभिन्न कारखानामा काम गरेर घर फर्किने भारतीय मजदुरको संख्या बढेको छ । भारतबाट आउने नेपाली नागरिकको व्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेना पनि जुटेपछि घर आएका नेपालीको व्यवस्थापन पछिल्ला दिनमा छिटो र प्रभावकारी बनेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सीमा क्षेत्रमा आइपुगेका नेपाली नागरिकले नेपाल प्रवेश पाउने भएकाले पहिलाजस्तो सीमा क्षेत्रमा धेरै दिनसम्म अलपत्रमा पर्ने समस्या छैन ।

नेपाली सेनाको गरुड दल गण रामनगरका लेफ्टिनेन्ट कर्णेल ज्योति थापाले भारतबाट आएका नेपालीलाई गन्तव्यसम्म पुर्‍याउने र बेखर्चीलाई सहयोगसमेत गर्ने गरिएको जनाए । भारतबाट नेपाल आउनेको संख्या पहिलाकै सरह रहेको उनले जनाए । उनका अनुसार सिमानामा नेपाली सेनाको उपस्थिति नभएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमानामै नाम दर्ता गरेर समूह बनाएपछि सेनालाई खबर गर्ने गर्छन् । उनीहरूलाई सेनाले रिसेप्सन सेन्टरमा ल्याएर सबै लगत लिएपछि ज्वरो मापन गर्छ । त्यसपछि सेनाले सञ्चालन गरेको बसबाट यहाँको डन्डापुलस्थित होल्डिङ सेन्टर निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानमा ल्याइन्छ ।

होल्डिङ सेन्टरमा ल्याइएका यात्रुलाई बाथरुम, शौचालयको सुविधा उपलब्ध छ । चिया र नास्तासहित होल्डिङ सेन्टरमा तीन/चार घण्टासम्म यात्रुले आराम गर्छन् । चिया र नास्ताका लागि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । त्यसपछि जिल्ला पहिचान गरी सम्बन्धित जिल्ला प्रशासन र पालिकाको बसबाट गन्तव्यसम्म पुर्‍याउने गरिएको छ । ‘ज्वरो मापन गर्दा उच्च देखिएमा र अन्य स्वास्थ्य अवस्था पनि असामान्य देखिएमा तत्कालै एम्बुलेन्सबाट अस्पताल लैजान्छौं । यसका लागि एउटा एम्बुलेन्स तयारी राखिएको छ,’ थापाले भने । 

रूपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार लकडाउनपछि सुनौली नाका हुँदै फर्केका नेपालीको संख्या असार १ गतेसम्म २० हजार ४ सय २ पुगेको छ । एकै दिन धेरैमा १ हजार ३ सय ७५ जना र कम १ सय १० जनासम्म यस नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट भारततर्फ जानेको संख्या २४ हजार ३ सय छ । ‘भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई घर आउन उत्तर प्रदेशकै नाकाबाट पाइने नियम बनाएपछि सर्लाहीदेखिका भारतीय मजदुरको चाप यस नाकामा परेको छ,’ कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भने, ‘भारतमै बसोवास गर्ने र आधार कार्ड भएका केही नेपाली भारततर्फ जान थालेका छन् ।’

जमुनाहमा भीड घट्दै

बाँकेको जमुनाह नाकामा भने भीडभाड कम देखिन थालेको छ । सिमानामा आएकालाई सहजै प्रवेश दिएर सम्बन्धित पालिकासम्म पुर्‍याउन थालिएपछि चाप घट्दै गएको हो । भारतमा रेल सञ्चालन गरिएपछि जमुनाह नाकाबाट स्वदेश आउनेको चाप ह्वात्तै बढेको थियो । 

‘नेपालीहरू आउने क्रम घट्दै छ,’ इलाका प्रहरी जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले भने, ‘पहिले दैनिक एक हजार नेपाली फर्कने गरेका थिए । अहिले ३/४ सय आइरहेका छन् ।’ 

यसअघि सीमाबाट नेपाल आउनका लागि भारतको क्वारेन्टाइनमा न्यूनतम दुई साता अनिवार्य बस्नुपर्ने प्रावधान थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार औपचारिक रूपमा नाका आइपुगेका आफ्ना जिल्लावासी वा पालिकावासीलाई लिन आएमा समन्वय गरेर लैजान पाउने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने गरी लैजान पाइने सर्तको व्यवस्था रहेको उनले सुनाए । यसरी फर्किनेको नाकामा ज्वरो नाप्नेबाहेक स्वास्थ्य जाँच र कोरोना परीक्षण गरिएको छैन । जमुनाहस्थित हेल्थ डेक्सका अनुसार लकडाउन सुरु भएयता ४३ हजार ९ सय ८ जना नेपाली फर्किएका छन् ।

कृष्णनगरबाट दैनिक २ सय भित्रिँदै

कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश आउनेको भीड पातलिन थालेको छ । अहिले दैनिक दुई सयको हाराहारीमा नेपाली यस नाकाबाट भित्रिइरहेका छन् । पहिले लुकीचोरी प्रवेश गर्नेको संख्या अत्यधिक थियो । अहिले नाकामा रहेको सेनाको होल्डिङ सेन्टर हुँदै मानिसहरू भित्रिइरहेका छन् । नाकामा भन्सार गेटअघि सेनाको मेडिकल टिम छ । टिमले पहिले उनीहरूको स्वास्थ्य परीक्षण गर्छ । स्वास्थ्य ठीक भए सेनाको होल्डिङ सेन्टरमा जान्छन् । त्यहाँ आराम गर्छन् ।

त्यहाँबाट उनीहरूलाई कहाँ जानुपर्ने हो, सम्बन्धित पालिकासँग समन्वय गरेर पुर्‍याउने गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । वृद्धवृद्धा, अपाङ्ग र बेसहारालाई मारवाडी सेवा समितिको सहयोगमा खानाको समेत व्यवस्था गरिएको छ । जेठ २१ गतेदेखि यहाँ सेनाको होल्डिङ सेन्टर छ । त्यसमा २ सय बेडको व्यवस्था गरिएको छ । जेठ २१ यता ३ हजार १ सय ३५ नेपाली भारतबाट नेपाल आएको बताइएको छ ।

Published on: 17 June 2020 | Kantipur

Link

Back to list

;