s

नक्कली भिसा देखाएर ठगी

७ जनासँग जनही २ लाख र बाँकीसँग ३०/३० हजार असुल
झापा शान्तिनगर ५ का एजेन्ट फडीन्द्र कोइराला फरार
कारबाही अगाडि बढाउन जिल्ला प्रशासनको निर्देशन
 
पर्वत पोर्तेल
 
कञ्चनपुरका एक व्यक्ति ताइवानमा आकर्षक रोजगारी दिने आश्वासन दिएर झापाका २५ जना युवाबाट २० लाख बढी ठगी गरेर फरार भएका छन्। 
 
कञ्चनपुरको त्रिभुवन बस्ती स्थायी घर भई काठमाडांैमा बस्दै आएका पारस मल्ल ठगी गरेर बेपत्ता भएको पीडितहरूले बताए। मल्लले ७ जनासँग जनही २ लाख र बाँकीसँग ३०/३० हजार असुल गरेका थिए। मल्लसँगै झापा शान्तिनगर ५ का एजेन्ट फडीन्द्र कोइरालासमेत फरार छन्। 
कोइरालाले सम्पर्क गराएका मल्लले श्रीमती मलेसियामा रहेको र साली ताइवानमा भएको बताउँदै त्यहाँको एउटा साइकल बनाउने उद्योगमा काम लगाइदिने आश्वासन दिएका थिए। उनले मासिक १ लाख ३० हजारभन्दा बढी कमाइ हुने आश्वासन दिएको पीडितहरूले बताएका छन्। 
 
मल्लले सुरुमा ताइवान पुगेपछि रकम दिँदा हुने भनेका थिए तर भिसा प्रक्रियाका लागि भनेर सबैसँग १२/१२ हजार असुले। पछि पुन: ‘भिसा आइसक्यो’ भन्दै जनही १ हजार ८ सय डलर मागे। राहदानीमा ताइवानका लागि रेसिडेन्सियल भीसा लगाइएको छ। तर, उक्त भीसा नै नक्कली रहेछ।
 
‘भिसा आई त सक्यो भनेर सबैले लाग्ने पैसा दियौं,’ पीडितमध्येका एक शान्तिनगर ५ का खेमराज मगरले भने, ‘सबैसँग पैसा उठाएपछि मान्छे बेपत्ता भयो।’ राहदानीमा भिसा लागेर आएपछि श्रम मन्त्रालयमा भिसाबारे बुझ्दा असली भएको प्रतिक्रिया आएपछि रकम दिइएको मगरले बताए। ‘आधिकारिक निकायबाट भिसा असली भन्ने भयो,’ अर्का पीडित मेचीनगर ४ का डिल्लीराम उप्रेतीले भने, ‘पछि पो थाहा लाग्यो, भीसा नक्कली रहेछ।’
 
मल्लले शान्तिनगर १ का बलकुमार चापागाईं, ज्ञानु सुब्बा र अशोककुमार कुँवरबाट जनही २/२ लाख, बाहुनडाँगी ५ का गोपाल पौड्याल, शान्तिनगर ५ का खेमराज मगर र यञ्जन कोइराला, शान्तिबगर ४ का रुद्र कुमालसँग समेत जनही २/२ लाख असुलेका थिए। त्यस्तै डिल्लीराम उप्रेती, टंकप्रसाद बजगाईं, रमेशकुमार चिमरियालगायत १६ जनाबाट ३०/३० हजार असुलिएको थियो। केहीले राजधानीको गोंगबुस्थित जनता बैंकमा रहेको मल्लको बैंक खातामा र केहीले आईएमईमार्फत रकम पठाएका थिए। पीडितहरूले मल्ल र उनका मतियार कोइरालालाई पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएका छन्।
 
जिल्ला प्रशासन कार्यालय झापाले पनि तत्काल कारबाही अघि बढाउन निर्देशन दिएको छ। इलाका प्रहरी कार्यालयका निरीक्षक विशाल भारतीले फरार अभियुक्त पक्राउका लागि पहल गर्ने बताउँदै केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरिने बताएका छन्। अभियुक्तद्वयसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 
 
Published on: 13 September 2016 | Kantipur 

Back to list

;