s

नक्कली बिहे गराएर युरोप तस्करी

जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो ।

भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवासीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरूसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ ।अहिले जर्मनीकेन्द्रित रहे पनि अनुसन्धान युरोपका अन्य देशमा पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार युरो अर्थात् १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले नक्कली बिहेमार्फत युरोपको आवास अनुमति लिएको म्युनिखस्थित संघीय प्रहरी निर्देशनालयलाई उद्धृत गर्दै फस्ट पोस्टले लेखेको छ । विगतका प्रमाणका आधारमा प्रहरीले थालेको सामूहिक अनुसन्धानले युरोपमानेपाली र भारतीय मानव तस्कर समूहले वर्षौंदेखि यस्तो धन्दाचलाएको देखिन्छ ।

युरोपको आवासीय अनुमति पाउन नक्कली बिहे गर्नेहरूलाई सम्बन्धित देशले निकाला गर्न सक्छ । प्रहरीले संगठित मानव तस्करीका अलावा यस्तो गैरकानुनी धन्दाबाट फाइदा लिइरहेका आप्रवासीमाथि समेत निगरानी बढाइएको जनाएको छ । जर्मन प्रहरीका अनुसार तस्करको फन्दामा पर्नेहरूमा अधबैंसे महिला र पुरुष छन् । युरोपोल, युरोपियन कानुन कार्यान्वयन इकाई, रोमानियन र पोलिस अनुसन्धान अधिकारीहरूले १७ विभिन्न अर्पाटमेन्टमा छापा मारी नेपाली र भारतीय मानव तस्करको सञ्जाल पहिचान गरेको थियो । प्रहरीका अनुसार यस्तै सञ्जाल डेनमार्कमा पनि देखिन्छ ।

प्रहरीले नक्कली बिहे दर्ता, नक्कली बिहे गर्न खडा भएका संस्था र प्रयोगमा नल्याइएका औंठी बरामद गरेको छ । अन्य दुई घरमा छापा मारी नक्कली बिहे गरेको १५ जनालाई नियन्त्रणमा लिइएको छ । तिनमा कति नेपाली छन्, पहिचान खुलिसकेको छैन ।

Published on: 1 March 2019 । Kantipur

Back to list

;