s

नक्कली एजेन्टको बिगबिगी

जनकराज सापकोटा
  
वैदेशिक रोजगारीमा हुने अधिकांश ठगीमा नक्कली एजेन्ट सक्रिय रहेको भेटिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मात्रै पछिल्ला १० महिनामा २२ ठगीका मुद्दामा २४ एजेन्ट पक्राउ गर्‍यो । तीमध्ये अधिकांश वैदेशिक रोजगार विभागमा सूचीकृत थिएनन् ।
 
जेठ २६ को श्रममन्त्रीस्तरीय निर्णयअनुसार सरकारले असार २१ देखि मलेसियासहित ६ मुलुकका लागि नि:शुल्क भिसा, टिकट लागू गरेपछि सूचीकृत एजेन्टको संख्या हवात्तै घटेको छ । तर, यही अवधिमा अवैध एजेन्टको बिगबिगी भने बढेको छ ।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल एजेन्टहरू मेनपावर व्यवसायीको कन्ट्रोलमा नहुने भएकाले नयाँ सूचीकृत एजेन्ट दर्ता नगरेको र भएका एजेन्टको पनि दर्ता खारेजी गरेको बताउँछन् ।
 
तथ्यांकअनुसार जेठयता विभागमा जम्मा ७ नयाँ एजेन्ट सूचीकृत भएका छन् भने यही अवधिमा दर्ता खारेजी हुने एजेन्टको संख्या ९३ पुगेको छ । पछिल्लो चैत महिनामा मात्रै २० सूचीकृत एजेन्टको दर्ता खारेज भएको देखिन्छ ।
 
सूचीकृत एजेन्ट हुन लाइसेन्स प्राप्त वैदेशिक रोजगार व्यवसायीको सिफारिसमा १ लाख रुपैयाँ धरौटी राखी विभागबाट लाइसेन्स लिन मिल्ने प्रावधान छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगीका घटनामा एजेन्ट संलग्न रहेको प्रमाणित भए उसले राखेको धरौटी रकमबाट निकालेर दिने व्यवस्था छ । तर, यस्ता सूचीकृत एजेन्टको नयाँ दर्ता पछिल्लो माघयताका महिनामा ठप्प छ ।
 
२०७२ को वैशाखमा विभागमा दर्ता भएका मेनपावरको संख्या १ हजार ३३ थियो । यो संख्या सोही वर्षको चैतमा २ सय ७८ ले घटेर ७ सय ५५ भयो । विभागका अनुसार अहिले ६ सय ७३ सूचीकृत एजेन्ट ७ सय ५५ मेनपावरका निम्ति काम गरिरहेको देखिन्छ ।
 
अध्यक्ष ढकालका अनुसार नि:शुल्क भिसा, टिकटको व्यवस्थापछि वैदेशिक रोजगारीमा पठाउने कामदारको संख्यामा कमी आएको र त्यसको असर सूचीकृत एजेन्टको संख्यामा परेको छ । यस्ता सूचीकृत एजेन्टले कामदार खोजेर मेनपावरसम्म पुर्‍याएबापत निश्चित कमिसन लिने व्यवस्था छ ।
 
अध्यक्ष ढकालका अनुसार कतिपय ठाउँमा एजेन्टले अनावश्यक र अवैध रूपमा कामदारसँग पैसा उठाएका कारण मेनपावरले पनि दु:ख पाएका छन् । भन्छन्, ‘वैदेशिक रोजगारीमा जति पनि ठगीका समस्या छन्, सबै अवैध एजेन्टका कारण भएको छ ।’
 
महानगरीय अपराध महाशाखाका डीएसपी नरेन्द्र चन्द जति पनि वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटना हुन्छन्, त्यसमा अवैध एजेन्टकै संलग्नता देखिने बताउँछन् । भन्छन्, ‘कतिपय एजेन्टले त मेनपावरलाई पनि झुक्काइरहेको छ । एजेन्टको बिगबिगी सहरदेखि गाउँसम्मै फैलिएको छ ।’
 
Published on: 20 May 2016 | Kantipur
 

Back to list

;